रामेछाप । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडने बेला नभएका बताएका छन् । 

नेकपा एमाले रामेछापले मङ्गलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा साङ्गठनिक क्षमता अभिवृद्धिका लागि जिल्ला स्तरीय कार्यशालामा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङले अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बेला भएको बताए। पार्टी माथि चौतर्फी हमला भइरहेको बेला पार्टी भित्रै यो र त्यो भनेर बहस चलाउनु उचित नहुने उनको धारणा छ । ‘अहिले केपी ओली र विद्या भण्डारी भनेर दौडने बेला होइन, पार्टी माथि चौतर्फी हमला भइरहेको छ, एमाले माथिको आक्रमण रोक्ने बेला आफैँ भित्र प्रतिष्पर्धा गरेर पार्टीलाई कमजोर बनाउनु हुँदैन’, उनले भने । 

गुरुङले नेतृत्वको बहस महाधिवेशनको बेला हुने बताए । ‘यस विषयमा हामीले महाधिवेशनको बेला बहस गर्ने छौँ, महाधिवेशनमा हामी सही निर्णय गर्ने छौँ, नेताहरूले रहर गरेर मात्र जिम्मेवारी पाइँदैन, समयको माग र आवश्यकताले निर्णय गर्छ, त्यसैले तपाईँहरू केपी ओली कि विद्या भण्डारी भनेर दौडनु पर्दैन’, उनले भने । 

पार्टीको नेता कार्यकर्ताले पत्याएको, कार्यकर्ताले अनुमोदन गरेको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने स्पष्ट पारे । कसैले टिको लगाइदिएर नेतृत्वमा नपुगिने उनको धारणा छ । ‘पार्टीले टिको लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठिक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरा, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्ष्यमा पुग्न सकिँदैन’, उनले भने ।  

नेकपा एमालेमा अहिले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकता मौलाउँदै गएको गुरुङले बताए । अहिलेको बेमौसमको बाजा पानी त्यसको उपज भएको उनको धारणा छ । आफैँ भित्रको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकता एमालेको लागि सबैभन्दा घातक भएको उहाँले बताए। ‘पार्टीमा पद बाँड्दै हिँड्ने, आफू भए ठिक, अरू हुँदा गलत भन्ने प्रवृत्ति मौलाएको छ, यो कम्युनिष्ट पार्टीको लागि घातक कुरा हो’, गुरुङले भने । 

एमाले मार्क्सवादी विचार र लेनिनवाद सङ्गठनात्मक प्रणालीबाट विकसित भएर आएको पार्टी भएको बताउँदै गुरुङले अहिले एमालेको असल पद्धति कोमामा पुगेको बताए । त्यसलाई बचाउनु आजको आवश्यकता भएको उनले स्पष्ट पारे । 

नामले मात्र कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउँदै गुरुङले एमालेलाई कम्युनिष्ट पार्टी बनाउनु हो भने मार्क्सवादी दर्शन र लेनिनवादी सङ्गठन प्रणालीलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउनु पर्ने बताए । अहिले अभियान विना कम्युनिष्ट पार्टीका सदस्यता नवीकरण समेत नहुने स्थिति आएको भन्दै उनले पार्टी भित्र व्यापक सुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको औँल्याए । 

गुरुङले नेकपा एमाले समाजवादमा पुग्ने लक्ष बोकेर अघि बढेको पार्टी भए पनि अहिलेकै विधि र पद्धतिले त्यो प्राप्त गर्न नसकिने  स्पष्ट पारे । त्यसैले पार्टी कम्युनिष्ट पार्टीको सही विचारधारा बोकेर अघि बढ्नु पर्नेमा उनले जोड दिए । 

वर्तमान सरकारले धेरै राम्रो काम गर्न नसकेको भए पनि नराम्रो काम पनि नगरेको उनले बताए । सरकार राम्रो काम गर्ने प्रयत्नमा रहेको दाबी उनको थियो । सरकारले आहा भन्ने काम गर्न नसकेको भए पनि नराम्रा काम पनि नगरेको उनको भनाइ छ । 

संयुक्त सरकार भएका कारण त्यसका केही सीमा भएका उनले बताए । संयुक्त सरकारमा एकलौटी सरकार जस्तो गरी आफ्ना नीति र कार्यक्रम लागु गर्न नसकिने बाध्यता बुझिदिन उनले आग्रह गरे । गुरुङले केपी ओली नेतृत्वको वर्तमान सरकारले धेरै केही गर्न नसके पनि देश र व्यवस्थालाई बचाउने तथा देशको स्वाभिमानलाई झुक्न नदिने दाबी गरे  । त्यसकै लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनले स्पष्ट पारे । कांग्रेस र एमालेको विचार र गन्तव्य नमिल्ने भए पनि देश र व्यवस्था बचाउने कुरामा दुवैको समान धारणा भएको गुरुङको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0