पोखरा । छनोट भएका १८ विद्यालयका १९ टिमबीच भएको प्रतिष्पर्धामा अब्बल बन्दै दोश्रो इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले चुमेको छ । शनिबार पोखरा सभागृहमा भएको फाइनल प्रतिष्पर्धामा गुरुकुलले उपाधि सहित नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल बन्यो ।
प्रतियोगितामा ग्लोबल कलेजियट मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय बने । द्वितीय स्थान प्राप्त गरेको ग्लोबल कलेजियटले नगद ५० हजार र तृतीय हुने फिस्टेल एकेडेमीले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे ।
विधागत रुपमा समेत पुरस्कृत गरिएको प्रतियोगिताको वेस्ट भोकलमा कालिका माविका अमोन गुरुङ, वेस्ट बेस गिटारिस्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, वेस्ट लिड गिटारिस्टमा प्रतिभा माविका सायूस बज्राचार्य उत्कृष्ट घोषित भए । वेस्ट ड्रमरमा गण्डकी बोर्डिङ स्कुल, वेस्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कुल र वेस्ट म्युजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए । प्रतियोगितामा पब्लिक च्वाइसतर्फ गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइसमा मदरल्याण्ड मावि (बी) घोषित भए ।
विधागत रुपमा उत्कृष्ट भएकाहरूलाई नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रतियोगिता भएको हो । ‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा सहभागी १९ टिम मध्ये १० टिम फाइनलमा पुगेका थिए । यसरी फाइनल राउन्डमा पुग्नेमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्या सदन, ग्लोवल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुल थिए ।
बिजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाई) लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यार्थीलाई साङ्गीतिक क्षेत्रमा अगाडि बढाउन आवश्यक पर्ने महशुस गरेर यो प्रतियोगिता आयोजना भएको र महानगरले साथ दिएको उनले प्रष्ट पारे । प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
विदेशका ठुला–ठुला स्टेडियम समेत नेपालका कलाकारले भरेको भन्दै साङ्गीतिक क्षेत्रमा भविष्य रहेको उनले खुलाए । ‘जबरजस्ती कसैले यो गर भनेर हुने चिज होइन, तपाईँलाई साँच्चै म गीत सङ्गीतको क्षेत्रमा लाग्छु, साङ्गीतिक क्षेत्रमा लाग्छु, मेरो प्रोफेसन बनाउँछु भन्ने लाग्छ भने कृपया हन्ड्रेड प्रसेन्ट त्यसमा इफोर्ट दिनुहोला’ उनले भने ।
कार्यक्रममा पप गायक आनन्द बज्राचार्य र प्रकाश रानाले व्ल्यु फायर व्याण्डको साथमा आफ्नो प्रस्तुती मार्फत उपस्थित दर्शकलाई झुमाए ।