पोखरा । ‘राउन्ड फेवा भ्यु फेवा’ हाइकिङ पदमार्गको सरसफाइ गरिएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको सरसफाइ गरिएको हो । टान गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पयर्टक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम सञ्चालन भइरहेको छ । सोही तालिममा सहभागीलाई प्रयोगात्मक कक्षा अन्तरगत राउन्ड फेवा भ्यु फेवा हाइकिङ पदमार्गको सरसफाइ, हाइकिङ तथा क्याम्पिङ कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।
सरसफाइ अन्तरगत पदमार्गमा सङ्कलित फोहोर डुङ्गा मार्फत ओसारी व्यवस्थापन गरिएको थियो । अध्यक्ष आचार्यले फेवाताल काखमा माछापुच्छ्रे हिमालयको सुन्दर दृष्य सँगै पोखराको दृष्य अवलोकनका लागि यो पदमार्ग उपयुक्त रहेको बताए । फेवा तालको ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्म एक दिनको हाइकिङ पदमार्ग गर्न सकिन्छ । टानले फेवा ताललाई केन्द्रमा राखेर पोखरा आउने पर्यटकलाई छोटो दुरीको फेवा हाइकिङ पदमार्गको प्रवर्द्धन गरेको हो । राउन्ड फेवा भ्यु फेवा हाइकिङ पदमार्गको सरसफाइ, हाइकिङ तथा क्याम्पिङ कार्यक्रमको समापनको अवसरमा बोल्दै पोखरा महानगरपालिका वडानम्बर २२ का अध्यक्ष हिमलाल बरालले यो पदमार्ग निमार्ण सम्पन्न हुँदा फेवातालको एक फन्को लगाउन सकिने र त्यसको लागि पदमार्ग स्तरोन्नतिको काम भइरहेको बताए ।
आगामी आर्थिक वर्षमा करिब १३ किलोमिटर लामो पदमार्गको निमार्ण सम्पन्न गर्ने वडाध्यक्ष बरालले जानकारी दिए । पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पदमार्ग सफाइ अभियान चलाउनुपर्ने बताए । उनले त्यसका लागि पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडको भूमिका महत्वपूर्ण हुने भुजेलको भनाई थियो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा काम गर्न चाहनेहरूका लागि यही राम्रो सम्भावना रहेको बताए । विदेशमा काम गर्न सोचे जस्तो सहज नरहेको बताउदै सुवेदीले पयर्टक पथ प्रदर्शक, ट्रेकिङ गाइड पेसामा यही सम्भावना रहेको चर्चा गरे ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तालिममा सिकेका कुराहरू प्रशिक्षार्थीले व्यवहारिक रुपमा उतार्न सके व्यवसयीक जीवनले सफलताको शिखर चुम्ने सक्ने सुनाए । कार्यक्रममा टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदी, द्वितीय उपाध्यक्ष मोहन सुवेदी, कार्यसमिति सदस्य रेनुका कार्कीले पदमार्गको सम्भावना बारे चर्चा गरेका थिए । तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पयर्टक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् ।












