पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीमा अवस्थित जनचेतन माविबाट एसइइ दिएकी रिपना गिरीले ४ जिपिए ल्याउन सफल बनेकी छन् । उनलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरेर नगद सहित सम्मान गरेको छ । विषय शिक्षकबाट ३५ हजार, निवर्तमान अध्यक्ष दुर्योधन गिरीबाट १० हजार र विद्यालयबाट ५ हजार गरेर कुल ५० हजार रुपैयाँ नगद सहित सम्मान गरिएको प्रधानध्यापक अर्जुन पौडेलले जानकारी दिए । 

४ जिपिए ल्याउन सफल रिपना सहित ग्रेड ए प्लस ल्याउने ६ जनालाई बाजागाजा सहित सम्मान गरिएको हो । २०८१ सालको एसइइ परीक्षामा यस विद्यालयबाट २६ जना सहभागी बनेकोमा २२ जना उत्तीर्ण भएका छन् । ९ जनाले ग्रेड ए, ४ जनाले बी प्लस र ३ जना बी ग्रेड ल्याएर उत्तीर्ण भएका हुन् ।  

२०१३ सालमा स्थापना भएको विद्यालय २०४६ सालबाट प्रवेशिका परीक्षामा सहभागी बनेको थियो । कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा सङ्कायमा अध्यापन हुँदै आएको छ । हाल विद्यालयमा २ सय विद्यार्थी र २३ शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा वडा नम्बर २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदी, पूर्व वडाध्यक्ष खगराज आचार्य, विद्यालय व्यवस्थापन समितका पूर्व अध्यक्ष नारायणदत्त अधिकारी, विद्यालयका प्रधानध्यापक अर्जुन पौडेल, शिक्षक यज्ञप्रसाद पराजुली, ४ जिपिए ल्याउन सफल रिपना गिरी लगायतले बोलेका थिए । माध्यमिक शिक्षा परीक्षा (एसइइ)–२०८१ को नतिजामा कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले ४ जीपिए ल्याएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0