पोखरा । नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गरेको छ ।
पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ति जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो । भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन् । रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन् ।
त्यस्तै पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदीप अर्याललाई रिलिज गरेको छ ।

एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन पोखराले आफ्नो टिममा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी गरेको छ । ‘हामी प्रख्यात विदेशी क्रिकेटरहरुसँग संवाद गरिरहेका छौँ । टिमलाई बलियो बनाउन हामी प्रख्यात क्रिकेटर ल्याउने छौँ । यसले एनपीएलको पनि गरिमा बढाउने विश्वास छ,’ त्रिपाठीले भने ।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने उल्लेख छ । यद्यपि हालसम्म औपचारिक रुपमा निश्चित मिति भने सार्वजनिक गरिएको छैन ।












