पोखरा । गण्डकी प्रदेशका मानव अधिकार रक्षकहरूले आफ्ना अधिकारको संरक्षण र सुरक्षाका लागि सरकारसँग १६ बुँदे माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा पोखरामा असार १५ गते आइतबार आयोजित  प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलनमा प्रदेशभरिका करिब १०० जना मानव अधिकार रक्षकहरूको सहभागितामा यो घोषणापत्र पारित गरिएको हो । कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युरोपियन युनियनको सहकार्यमा आयोजना गरिएको हो ।

सम्मेलनले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि तीनै तहका सरकारहरूसँग कानुन निर्माण गर्न माग गरेको छ । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको प्रभावकारी कार्यान्वयनको पनि माग गरिएको छ । घोषणापत्रमा प्रदेश स्तरमा विद्यमान वर्गीय, धार्मिक, सामाजिक, सांस्कृतिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गर्न र उपेक्षित, उत्पीडित तथा लक्षित वर्गका नागरिकहरूलाई मानव अधिकारको प्रत्याभूति गराउन ठोस पहलकदमी चाल्न माग गरिएको छ ।

जोखिममा काम गरिरहेका मानव अधिकार रक्षकहरूको सुरक्षा तथा पहिचान गर्नका निमित्त खोज, उद्धार साथै स्वास्थ्य बीमाका लागि आवश्यक कदम चाल्न माग गरिएको छ । गृह मन्त्रालयद्वारा जारी गरिएको आदेश २०७७ को प्रभावकारी कार्यान्वयनको लागि सबै सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराइएको छ । महिला, दलित र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने मानव अधिकार रक्षकहरूलाई भयरहित वातावरण निर्माण गर्न माग गरिएको छ । त्यसैगरी सबै प्रकारका अपाङ्गता भएका मानव अधिकारकर्मीहरूलाई सम्मानपूर्वक काम गर्न उपयुक्त सञ्चार र पहुँचयुक्त वातावरण तयार गर्न माग गरिएको छ ।

प्रदेश र स्थानीय सरकारलाई मानव अधिकार रक्षकहरूको सूची (रोष्टर) बनाई विषयविज्ञको आधारमा कामको जिम्मेवारी दिई सीप विकास सहित क्षमता अभिवृद्धिका लागि माग गरिएको छ । मानव अधिकार रक्षकहरूले पीडितहरूलाई न्यायिक पहुँचमा ल्याउन खेलेको भूमिकाको उच्च कदर गर्दै उनीहरूको संरक्षण, सुरक्षा तथा प्रोत्साहन र पहिचान स्थापनाका लागि माग गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगमा राष्ट्रिय समाधिक्षक तत्काल नियुक्ति गर्न आग्रह गरिएको छ । मानव अधिकार रक्षकको अधिकारको अवस्था अनुगमनका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष समाधिक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुपर्ने माग गरिएको इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले बताए ।  ‘मानव अधिकार रक्षकहरूले लोकतान्त्रिक गणतन्त्र स्थापनामा अहम् भूमिका निर्वाह गरेका छन् । उनीहरूको आफ्नै अधिकार संरक्षण र सुरक्षामा राज्य संवेदनशील हुनुपर्छ । हामी राज्यलाई जवाफदेही बन्न आह्वान गर्छौं,’ खकुरेलले भने । 

घोषणापत्रमा नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र एवं लोकतान्त्रिक अधिकारहरूलाई संस्थागत गर्दै मानव अधिकारको रक्षा र दण्डहीनताको अन्त्य गर्दै विधिको शासन स्थापित गर्न जोडदार आग्रह गरिएको छ ।

सम्मेलनले प्रदेश स्तरीय मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकको मस्यौदा कानून पास गर्न प्रदेश सरकारसमक्ष माग गरेको छ । त्यसैगरी महिला, बालबालिका, जेष्ठ नागरिक, लोपोन्मूख समुदाय, दलित, आदिवासी जनजाति, मुस्लिम तथा पछाडि पारिएका वर्ग समुदायका अधिकारका लागि कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षाको प्रत्याभूति गराउन माग गरिएको छ ।

उद्घाटन सत्रमा बोल्दै प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले इन्सेकले मानव अधिकारको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा  गरेक थिइन् । ‘मानव अधिकार संरक्षणमा राज्य गम्भीर हुनुपर्छ । इन्सेकजस्ता संस्थाको निरन्तरता अत्यन्त आवश्यक छ । मानव अधिकार उल्लंघन कम गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्छन्,’ उनले भनिकी थिइन् ।  

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानुन महाशाखाका सचिव रामजी दनाईले मानव अधिकार रक्षकहरूप्रति भइरहेको दण्डहीनताको अन्त्य आवश्यक रहेको बताएका थिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0