पोखरा । गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले उचालेको छ । पोखरा रङ्गशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्बीको एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । उपाधिसँगै एपीएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । शनिबार सेमिफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमिफाइनलमा एपीएफले कोशीप्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै आर्मीले गण्डकीलाई २१–१२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्यो । सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।
१२ गतेदेखि १४ गतेसम्म चलेको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागि थियो । यस्तै विभागीय क्लब एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित भइन् । यस्तै एपीएफकी सङ्गीता चौधरी उत्कृष्ट गोलरक्षक र एपीएफका सुशील अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको छ भने सह–प्रायोजकमा बुल्समेन क्लब र प्राविधिक सहयोगमा जिल्ला ह्याण्डबल सङ्घ कास्की रहेको थियो ।












