पोखरा । पोखरामा गुड्ने नगरबसको शुक्रबार प्रदुषण जाँच गरिएको छ । यातायात व्यवस्था कार्यालय, सवारी, कास्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा पोखराको न्युरोडमा गरेको छड्के प्रदूषण जाँच मार्फत २१ वटा नगर बसको प्रदूषण जाँच गरियो । यसरी जाँच गरिएकामध्ये ११ वटा पास र १० वटा फेल भएको यातायात व्यवस्था कार्यालय, सवारी कास्की प्रमुख ढाकाप्रसाद शर्माले बताए ।
कार्यालय प्रमुख शर्माका अनुसार फेल भएका बस मर्मतसम्भार गरेर पुनः जाँच गरिने र पास भएपछि मात्र चलाउन पाइनेछ । अटेरी गरेर सवारी चलाएको पाइए २ देखि १० हजार रुपैयाँसम्म जरिवाना गरिने उनले बताए । मर्मत गरेर नल्याउँदासम्म कागजात राख्ने र फेरि पनि मर्मत नगरे रुट इजाजतसमेत खारेज गर्नेसम्म हुन सक्ने समेत बताए । २० दिनअघि चीनबाट मेसिन ल्याइएकाले अब समयसमयमा प्रदूषण जाँच गरिने उनको भनाइ छ । गत साता पनि कार्यालयले पोखराका १० वटा नगर बसको प्रदूषण जाँच गरेको थियो । त्यतिबेला ६ वटा फेल भएका थिए । ती ६ वटै सवारी मर्मतपछि कार्यालयमा परीक्षणका लागि आएकोमा पास भएको प्रमुख शर्माले सुनाए ।

पोखराका नगर बसले धुवाँ फाल्दा वातावरण प्रदुषण भएको भन्दै सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भएको थियो । यसरी आलोचना भएपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाशबहादुर केसीले सवारीको प्रदूषण जाँच गर्न मन्त्रालयमार्फत कार्यालयलाई निर्देशन दिएका थिए । शुक्रबार पोखराको न्युरोडमा भएको प्रदूषण जाँचको निरीक्षण गर्न मन्त्री केसी समेत पुगेका थिए ।
प्रदूषण जाँच गर्दा धूवाँको घनत्व एक सय प्रतिशत मेजर्ड हार्ट्रिज स्मोक युनिट ९एचएसयू० लाई आधार मानिन्छ । एचएसयू जति बढी हुन्छ त्यो सवारीको धुवाँ त्यति नै बढी प्रदूषित रहेको मानिने कार्यालयका मेकानिकल सुपरभाइजर सुमन शर्माले बताए । डिजेल गाडीको हकमा नेपालमा ६५ भन्दा कम एचएसयू भएका सवारी प्रदूषण जाँचमा पास र ६५ भन्दा बढी हुने सवारी फेल मानिने उनको भनाइ छ ।
प्रत्येक सार्वजनिक सवारी साधन ६र६ महिनामा र निजी सवारी साधन प्रत्येक वर्षमा जाँच पास गर्नुपर्ने नियम छ । तर प्रदूषण जाँच नै नगरी हरियो स्टिकर दिने गरिएको आरोप नागरिकको छ ।














