पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्‌घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले समाजलाई सचेत, सुसूचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए । पत्रकारलाई गतिशील बनाउन तालिमले मद्दत गर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले हाल सञ्चार क्षेत्रमा आर्थिक मन्दीको अवस्था रहेको बताउँदै पत्रकारिता क्षेत्रमा आकर्षण बढाउन र प्रविधिको प्रयोग गर्दै यस क्षेत्रलाई परिष्कृत तवरले आगाडि बढाउन तालिम प्रभावकारी हुने बताए ।

नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जालको प्राविधिक सहयोगमा सञ्चालित तालिमका प्रमुख प्रशिक्षक सञ्जालका संस्थापक रजनिश भण्डारी रहेका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र सञ्चालन सचिव भुपाल गुरुङले गरेका थिए ।
तीन दिन सम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्ध ६० जना पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0