पोखरा । कास्कीमा असारबाट नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन कार्यमा रोक लगाइएको छ। नदीजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको हो ।
ढुङ्गा, गिटी ,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को कानुनी ब्यवस्था बमोजिम उक्त निर्णय गरिएको हो । सो ब्यबस्था अनुसार असार ,साउन र भदौ महिनामा उत्खनन तथा सङ्कलन कार्य गर्न नपाइने उल्लेख छ। सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने र अवज्ञा गरेमा कानुन अनुसार कडा कारबाही गरिने सो समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए । पौडेलले सो कार्यमा संलग्न व्यवसायी तथा आपूर्तिकर्ता र सरोकारवालाहरू सहित आम जनसमुदाय सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन आग्रह गरे।
बैठकले नदीजन्य पदार्थको मौज्दात आर्थिक वर्षको अन्त्य सम्म शून्य गर्नुपर्ने र सो हुन नसकेमा बाकी मौज्दात सम्बन्धित पालिकाले जफत गरि लिलाम गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न कास्कीका सबै पालिकालाई अनुरोध समेत गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गरे।
सञ्चालनमा रहेका खानी, क्रसर तथा प्रसोधन उद्योगले असार मसान्त भित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्वजनिक गरि सो को जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने व्यवस्थालाई समेत कडाइका साथ अनुगमन गरिने निर्णय भएको बरालले बताए ।














