पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४ औँ वार्षिक साधारण सभा तथा विधान अधिवेशन पर्यटकीय राजधानी शहर पोखरामा हुने भएको छ । आगामी असोज ११ र १२ गते हुने कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भएको अध्यक्ष रीता थापामगरले जानकारी दिइन् ।
गण्डकी प्रदेश प्रतिष्ठानको मातृ प्रदेश भएको कारण समेत साधारण सभा र विधान अधिवेशनको लागि पोखरा छनोटमा परेको जिल्ला कार्यसमिति कास्कीले आयोजना गरेको २३ औँ साधारण सभामा बोल्दै उनले खुलाइन् । प्रतिष्ठान अहिले पुस्तान्तरण हुँदै चौथो पुस्तामा आफ्नो नेतृत्वमा चलिरहेको भन्दै गण्डकी प्रदेशमा विधान अधिवेशन सम्पन्न गरेर आउने पुस्तालाई स्पष्ट विधान सहित जिम्मेवारी सुम्पने प्रयास गर्न लागेको उनको भनाई थियो । पछिल्लो समयमा विधान लगायतका कारणबाट प्रतिष्ठानमा केही समस्या भने देखिएको सङ्केत उनले गरिन् ।
‘एकले अर्कालाई विश्वास नगरेको हो की, भर नपरेको हो की, संशकित जस्तो अवस्थामा हामी छौ, त्यसले गर्दा कास्की जिल्ला गण्डकी प्रदेशमा विधान अधिवेशन सम्पन्न गर्न पायौ भने आमाको काखमा बसेजस्तै, जुन आशा भरोसा विश्वास पाउछौ आमाबाट, त्यही तरिकाले यो विधान सभा सम्पन्न गर्न सक्नेछौ’ उनले भनिन् ।
संस्थालाई अझै थप मजबुत बनाउन आफ्नो कार्यसमिति निरन्तर खटिरहेको प्रष्ट पारिन् । प्रतिष्ठानका शाखाहरू र आवद्ध कलाकारको अवस्था बुझ्न आफू देशैभरको जिल्ला तथा प्रदेशमा पुगेको उनले बताइन् । जिल्ला मजबुत भए प्रदेश मजबुत हुने र प्रदेश मजबुत भए केन्द्र मजबुत हुने उनको भनाई थियो ।
अभिभावकहरूले देखाएको बाटोमा हिँडिरहेको भन्दै संस्थालाई दुर्घटना पर्न नदिने प्रतिबद्धता उनले जनाइन् । ‘संस्थाको गरिमालाई उँचो बनाउनमा मेरो टिम लागिरहेको छ, साथीभाइलाई पनि विश्वस्त हुन अनुरोध गर्दछु’ उनले आग्रह गरिन् । दोहोरी गीत प्रतिष्ठानले लिएको उचाइ अरु कुनै संस्थाले लिन नसक्ने उनको ठोकुवा थियो ।
साधारण सभा र विधान अधिवेशनको सहआयोजकको जिम्मेवारी प्रतिष्ठान गण्डकी प्रदेश समिति र स्थानीय व्यवस्थापनको जिम्मेवारी जिल्ला समिति कास्कीले पाएको छ ।