पोखरा । पोखरामा इन्टर स्कुल व्याण्ड कम्पिटिसन हुँदैछ । आगामी साता हुने कम्पिटिसनमा १९ स्कुलले प्रतिष्पर्धा गर्ने भएकाे आयोजक पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालले जनाएको छ । भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने दोश्रो संस्करणको कम्पिटिसनमा धेरै विद्यालयले सहभागिताका लागि आवेदन दिएपनि उनीहरूले पठाएको भिडियोको आधारमा १९ स्कुल छनौट गरिएको सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले जानकारी दिए । धेरै नै स्कुलले सहभागिताका लागि आवेदन र भिडियो पठाएका थिए, उनले भने, ‘तर हाम्रो जुरी कमिटीले १९ स्कुललाई मात्र अन्तिम प्रतिष्पर्धामा सहभागिताका लागि छनौट गरेको छ ।’
विद्यालय स्तरका कक्षा १२ सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेन्डरी स्कुल (बी), मदरल्याण्ड सेकेन्डरी स्कुल (ए), न्यु डायमन्ड मावि, कास्की मोर्डनाइज्ड सेकेन्डरी स्कुल, प्रतिभा मावि, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल छनौट भएका छन् । त्यस्तै, लेविन्स रेसिडेन्सियल स्कुल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगति सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट मावि, कुमुदिनी होम्स मावि, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र सगरमाथा मावि प्रतिष्पर्धाका लागि छनौट भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता आउँदो शुक्रबार शुरु हुँदैछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।सङ्घका अनुसार भदौ १४ गते शुक्रबार १९ वटै स्कुलले आआफ्नो प्रस्तुती दिनेछन् । पूर्वाह्ण ११ बजेदेखि शुरु हुने प्रतिष्पर्धामा सैनिक आवासीय माविले प्रस्तुती दिएपछि निरन्तर तालिका अनुसार नै प्रत्येक विद्यालयले प्रस्तुती दिने अध्यक्ष गुरुङले बताए । प्रतिष्पर्धा स्कुलका ब्राण्डहरूले पहिलो दिन गण्डकी प्रदेशका सर्जकहरूका गीत प्रस्तुत गर्नुपर्नेछ । उनीहरूले दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट १० दश फाइनलमा पुग्नेछन् ।
फाइनलमा पुगेका स्कुल व्याण्डहररूले प्रतियोगिताको अन्तिम दिन दुईवटा गीतहरू प्रस्तुत गर्नुपर्नेछ । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए । सोही प्रस्तुतीका आधारमा विजेता, उपविजेता लगायतको घोषणा गरिने उनको भनाई छ ।
सङ्घले ग्रास रुटबाटै कला र सङ्गीतका प्रतिभा खोज्ने र उनीहरूको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाइ)ले जानकारी दिए ।
प्रतियोगिताले पोखराको साङ्गीतिक माहोल तताउँदै व्याण्डहररूलाई पुनर्जागृत गराउने सङ्घको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै साङ्गीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने सङ्घका अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको साङ्गीतिक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा ब्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’-उनले भने ।
सङ्घका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरूको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटार, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।