पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । सोमबार वडा खोप समन्वय समितिले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको प्रमुख आतिथ्यतामा एक विषेश कार्यक्रमको आयोजना गरेर वडा नं. ७ पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेको हो ।

कार्यक्रमको बोल्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाल सरकारले खोप कार्यक्रममालाई प्राथमिकतामा राखेको बताइन् । नेपालमा वार्षिक रुपमा ६ लाख ६० हजारको हाराहारीमा नवजात शिशुको जन्म हुने गरेको भन्दै ती नवजात शिशु सबैले पूर्ण खोप लगाउन पाउनु उनीहरूको अधिकार भएको बताइन् । पोखरा ७ ले झै पोखराका ३३ वटै वडाले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि मात्र खोप सुनिश्चित महानगरपालिका घोषणा गर्न पाइने उल्लेख गरिन् । वडा नं. ७ ले गरेको कार्यक्रम सन्देशमूलक भएको उनको भनाइ थियो ।

उपप्रमुख गुरुङले सन् २०३० सम्ममा नेपालका ७ सय ५३ वटै पालिकालाई बालमैत्री घोषणा गरिसक्नुपर्ने भएकोले पनि सरकारले बालबालिकालाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको खुलाइन् । बालमैत्री पालिका घोषणाका ५१ सूचक मध्ये पहिलो सूचक जन्म दर्ता गरेको हुनुपर्ने र दोस्रो सूचक पूर्ण खोप लगाइएको हुनुपर्ने भन्दै यसमा स्वास्थ्य स्वमंसेविकाको भूमिका महत्वपूर्ण हुने प्रष्ट पारिन् ।

वडा खोप समन्वय समितिका अध्यक्ष समेत रहेका पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले सबैको साझा प्रयासमा गएको वर्ष भन्दा एक महिना अगाडि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न सम्भव भएको बताए । गएको वर्ष जेठ १ गते कार्यक्रम गरिएको थियो । श्रीकृष्ण माध्यामिक विद्यालय प्राङ्गणबाट बाजागाजा सहित सन्देश प्रवाह गर्दै र्‍याली सहित कार्यक्रम गर्न पाइएको उनले खुशी व्यक्त गरे । कार्यक्रममा साथ दिनेलाई मनोबल बढाउनका लागि आगामी वर्ष सम्मानका कार्यक्रम समेत गरिने उनले उद्घोष गरे। सबै वडामा सन्देश पुग्न सकोस् भन्ने हेतुले कार्यक्रम गरिएको उनले खुलाए ।

कार्यक्रममा बोल्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सबैको अथक प्रयासका कारण पोखरा ७ लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न सम्भव भएको बताए । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले समयमानै वडालाई खोप सुनिश्चितता घोषणा गरेकोमा तारिफ गर्दै महाशाखाको तर्फबाट गर्नुपर्ने कार्यमा सदा साथ रहने प्रतिवद्धता जनाए ।

स्वास्थ्य स्वयंसेविका भिमा पौडेलले पोखरा महानगरपालिकामा ६ सय ५६ जना महिला स्वमंसेविका रहेकोमा वडा नं. ७ मा ७ जना महिला स्वमंसेविका रहेको बताइन् । खोप लगाउने कार्य निरन्तर रुपमा चलिरहने भन्दै खोप अभियान लगायतका कारण देशैभर आमा र बालबालिकाको मृत्युदरमा कमी आएको बताइन् । बाटो मात्र विकास नभएर स्वास्थ्य महत्त्वपूर्ण विषय भएको बताइन् । अब डेँगुबाट सुरक्षित गर्न अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो ।

वडा सचिव राजेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य तथा वडा खोप समन्वय समिति उपाध्यक्ष वसुन्धरा लामिछानेले स्वागत र स्वास्थ्य स्वमंसविका सरस्वती कार्कीले वडामा भएका गतिविधिका बारेमा कविता सुनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0