पोखरा । सिटीवान टेलिभिजनले नयाँवर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेको छ । पोखराको नयाँबजार स्थित कार्यालय परिसरमा मङ्गलबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान समारोहमा क्यालेण्डर सार्वजनिक गरिएको हो । क्यालेन्डर गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा‍.टकराज गुरुङले सार्वजनिक गरेका हुन् । टेलिभिजनले उक्त क्यालेन्डर ५ हजार प्रति प्रकाशन गरेको छ । प्रबन्ध निर्देशक अनिशा श्रेष्ठका अनुसार क्यालेन्डर गण्डकी प्रदेशका सबै पालिका र वडा कार्यालय, व्यावसायिक प्रतिष्ठान, सरकारी तथा गैरसरकारी निकायका कार्यालयहरू लगायतमा वितरण गरिनेछ ।

यसका साथै काठमाडौँ र प्रमुख सहरका मुख्य व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमा पनि क्यालेण्डर उपलब्ध गराइने बताइएको छ । क्यालेन्डर सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका गुरुङले नैतिक शिक्षा, धार्मिक भावना विस्तारै कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो समयमा देशको राजनीतिमा समेत केही कमजोरी भएको उनले औँल्याए । केही वर्ष अगाडि सम्म जन्मभूमि प्रतिको माया, गाउँ प्रतिको अगाध हुने गरेको भएपनि अहिले त्यसमा परिवर्तन आएको उनले उल्लेख गरे । हिजो जन्मभूमि प्रतिको माया हुने गरेको र त्यहीँ अनुसारको नैतिक शिक्षा प्रदान गरिएको भएपनि अहिले त्यस्तो हुन नसकेको बताए । युवा शक्ति देशबाट पलायन हुने अवस्था भएको भन्दै विगतमा आदर र सम्मान गरिने देश अनि बाबुआमा प्रति पछिल्लो समयमा निराशा प्रकट हुने गरेको खुलाए ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले राज्य भनेको सरकार मात्र नभएर आम नागरिक हो भन्ने भाव सबैले बुझ्नुपर्ने बताए। विगतलाई खुशीका साथ स्मरण गर्दै नयाँ वर्षलाई स्वागत गर्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश उपसभापति तथा पूर्व मन्त्री मेखलाल श्रेष्ठले किसानहरू हतोत्साही नहुने गरेर सरकारले काम गर्नुपर्ने बताए । किसानहरू हतोत्साही भएमा देश आत्मनिर्भर बन्न नसक्ने भन्दै गण्डकी प्रदेशका ११ वटै जिल्लामा राम्रो खालका कोल्ड स्टोर बनाउनुपर्नेमा जोड दिए । स्थानीय तहले राख्न चाहन्छ भने मिनी कोल्ड स्टोरहरू पालिका स्तरमा विकास गर्न सकेमा किसानलाई मूल्य दिलाउन सकिने उल्लेख गरे ।

सिटीवान टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतिले गण्डकी प्रदेशमा भएका गतिविधि, विचार, संस्कृती, खेलकुद, स्वास्थ्य लगायतका विषयलाई मिडिया मार्फत उजागर गर्ने उद्धेश्यले टेलिभिजनको स्थापना गरिएको बताए । कोरोनाको समयमा समेत साथीहरुको साथ र सहकार्यका कारण टेलिभिजन स्थापना गर्न सकिएको उनको भनाइ थियो । उनले स्थापना पश्चात टेलिभिजनले हरेक वर्ष नियमित रुपमा क्यालेन्डर प्रकाशन गर्ने गरिएको उल्लेख गरे ।

कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष उमराज बाँस्तोला, टेलिभिजनका कोषाध्यक्ष विनोद भुजेल लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रमको सञ्चालन सिटी वान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गरेकी थिइन् । क्यालेन्डर प्रकाशन गर्न सघाउनै सबैप्रति टेलिभिजनले आभार समेत प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0