पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा कानुनी सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै पोखरा ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले विभेद उन्मूलन गर्नको लागि समाजमा भएका सबै नागरिकहरूको दायित्व तथा भूमिका उतिकै हुने बताए । त्यही कारण उत्पीडित समुदायका मात्र नभएर वडा नम्बर ५ का सबै टोल विकास संस्था, आमा समुह र सामाजिक व्यक्तित्वकाबीचमा लगियो भने मात्र कार्यक्रमले सार्थकता पाउँछ भनेर कार्यक्रम गरिएको खुलाए । कानुनमा धेरै कुराको व्यवस्था गरिरहँदा त्यो अनुसारको समाज निर्माण हुन नसकेकोमा उनको चिन्ता थियो । अहिलेपनि जातीय विभेदका घटना घटिरहेको भन्दै एउटा मानिसले अर्को मानिसलाई विभेद गर्ने कुरा स्वीकार गर्न नसकिने प्रष्ट पारे।
जातीय विभेद उन्मूलन गर्नको लागि सबैले हातेमालो गर्न जरुरी भएको उनको भनाइ थियो । वर्तमान संविधानले धेरै अधिकार सुनिश्चित गरेको वडाध्यक्ष बरालले बताए । विभिन्न ठाउँमा प्रतिनिधित्वको सुनिश्चितता संविधानले गरेको भएपनि त्यो पर्याप्त भने नभएको उनले खुलाए । आवश्यकताको आधारमा संविधानमा संशोधन गरेर थप अधिकार प्राप्त गर्न सकिने उनले उल्लेख गरे । अहिले पुरानो व्यवस्था फर्काउनको लागि गणतन्त्र विरोधीले केही चलखेल भइरहेको भएपनि त्यो सम्भव नभएको भन्दै त्यस्ता कुरामा नअल्मलिन आग्रह गरे ।
कार्यक्रममा वडा सदस्यद्वय हरिमाया बिक र कल्पना भुवाजी क्षेत्री, सामाजिक अभियन्ता हरि सुनार, वडा सचिव लक्ष्मण शर्मा लगायतले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका बारेमा बोलेका थिए । कानुनी सचेतना कार्यक्रमको सहजिकरण अधिवक्ता शिव सुनारले गरेका थिए । कार्यक्रममा पोखरा ५ का टोल विकास संस्था, आमा समुहका प्रतिनिधि सहित विभिन्न सामाजिक व्यक्तित्व गरेर ५० भन्दा बढीको सहभागिता रहेको थियो ।्
संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । राष्ट्रसङ्घले पारित गरेको जाति तथा रंगभेदविरुद्धको महासन्धि नेपालले सन् १९७१ मा अनुमोदन गरेको थियो ।
