पोखरा । पोखरा १७ को दुर्गा मन्दिर शक्तिपीठ धाममा कोटी दीप प्रज्वलन हुने भएको छ । आयोजक दुर्गा मन्दिर व्यवस्थापन समितिले मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार चैत्राष्टमीको दिन राष्ट्र शान्ति लोककल्याण नवग्रह शान्ति पितृ उद्धार एवं श्री दुर्गा मन्दिर शक्तिपीठ धामको श्रीवृद्धिको लागि यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा विभिन्न वैदिक आचार्य गुरुहरूद्वारा सहस्र सप्तशती चण्डी मन्त्रजप, नवचण्डिपाठ, वेदपाठ, देवीमहिमा प्रवचन, नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दीप प्रज्वलन एवं प्रसाद वितरण कार्यक्रम हुने बताइको छ ।
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा अधिकारीले मूल कार्य र दीप प्रज्वलन चैत्र २३ गते गरिने बताए । चैत्र १७ गते प्रतिपदाको दिनमा प्राण प्रतिष्ठाको कार्य शुभारम्भ गरिनेछ । चैत्र २१ गते विधिवत रुपमा सबै व्यवस्थापन गरेर २२ गते पूर्वाङ्ग गरिनेछ । पूजामा मूल गुरुको रुपमा आचार्य प्राध्यापक डा।भोलानारायण रेग्मी रहने अध्यक्ष शर्माले खुलाए ।
उपाध्यक्ष मोहन लाल पौडेलले समिति नयाँ सोचका साथ अगाडि बढेको बताए । मन्दिरका गुरुले राखेको प्रस्तावलाई स्वीकार गरेर कार्यक्रम गर्ने तय भएको उनको भनाइ छ । यसको लागि बौद्धिक वर्ग, आध्यात्मिक वर्ग, मन्दिरका भक्तजन, टोल विकास संस्था, धार्मिक सङ्घसंस्था, आमा समुह, क्लब लगायतसँग छलफल गरेर सल्लाह सुझाब लिइसकिएको छ।
मन्दिरका पण्डित रामप्रसाद नेपालले २३ गते बिहान साढे ८ बजेबाट पुजा सुरु गरिने बताए । आफ्नो प्रस्ताव व्यवस्थापन समितिले सहर्ष स्वीकार गरे पश्चात कार्यक्रम गर्न लागिएको र यसको महत्व धेरै रहेको उनले प्रष्ट पारे ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष रविन्द्रराज बराल, सचिव ध्रुवराज बराल लगायतले बोलेका थिए । यो कार्यक्रममा कर्ताको रुपमा सहभागी हुनको लागि १ लाख दीप प्रज्वलनमा लाग्ने खर्च ५ हजार १ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
पोखरा १७ र २२ को सिमाना छोरेपाटनमा रहेको दुर्गा मन्दिर शक्तिपीठ धामको स्थापना २०३७ साल असार २४ गते भएको समितिले जनाएको छ । स्वर्गीय रुद्रनाथ बराल र शशिधर बरालबाट जग्गा प्राप्त भै तत्कालीन समितिका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको परिकल्पनामा यसको स्थापना भएको समितिले उल्लेख गरेको छ । यो दुर्गा मन्दिरमा विभिन्न भक्तजनहरूद्वारा गणेश मन्दिर, सन्तोषी माताको मन्दिर, रातो मच्छिन्द्रनाथको मन्दिर, १०८ शालिग्राम, १०८ शिवलिङ्ग स्थापना गरिएको छ । यसका अलावा १०८ पिपल पुण्यधाम र सूर्य चक्र शनिदेव शिला स्थापना का साथै विभिन्न देवीदेवता का विग्रह स्थापना यहाँ गरिएको छ ।
मन्दिरको विशेष आम्दानीको श्रोतको रुपमा भक्तजनहरुको विशेषसहयोग नवदुर्गा पुजामहोत्सव शनित्रयोदशी विशेष पुजा महोत्सव मंगलचौथी पुजा एवं शिवरात्री पुजा सहयोग वाट दैनिक पुजा चल्दै आएको समितिले खुलाएको छ । चैत्र २३ गतेको कार्यक्रमको लागि हालसम्म ६० लाग बत्तिको लागि भक्तजनले नाम टिपाइसकेको र निर्धारित समयसम्म लक्ष्य भन्दा बढी भक्तजनको सहभागीता रहने विश्वास समितिले गरेको जनाएको छ ।
