पोखरा । कास्कीमा चैत्र ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)को तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार कास्कीमा साधारण तर्फ ९ हजार ७ सय ९५ जना र ग्रेड वृद्धिमा १ हजार ३४ जना गरेर कुल १० हजार ८ सय २९ जना विद्यार्थी परीक्षामा सम्मिलित हुँदैछन् । प्राविधिक धारतर्फ १ सय ८४ नियमित र ग्रेड वृद्धिमा २४ जना गरेर २ सय ८ जना रहेका छन् ।
प्रमुख आचार्यका अनुसार परीक्षा सञ्चालन हुने केन्द्रका केन्द्राध्यक्षलाई अभिभुखिकरण कार्यक्रम गरिसकिएको छ । परीक्षाको लागि कास्कीमा ३६ वटा केन्द्र निर्धारण गरिएको छ । यो पटक एउटा केन्द्र थपिएको हो । विगतमा ३५ केन्द्र हुने गरेका थिए । यसपालि कास्कीको बिरेठाँटी माविमा नयाँ केन्द्र थपिएको र उक्त केन्द्रबाट ८ विद्यालयका विद्यार्थीले परीक्षा दिने प्रमुख आचार्यले खुलाए ।
ग्रेड वृद्धिका लागि छुट्टै परीक्षाकेन्द्र निर्धारण गरिएको छ । नव प्रभात मावि नयाँबजारमा ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने भएको छ । कास्कीमा संस्थागत विद्यालय १ सय ६५ वटा र सामुदायिक विद्यालय १ सय २२ वटा गरेर कुल २ सय ८७ विद्यालयका विद्यार्थी एसइइमा सहभागी बन्नेछन् ।
सामुदायिक तर्फका १ सय २२ मा संस्कृत तर्फका ८ र प्राविधिक धारका ६ वटा समावेश छन् । अम्मरसिंह माविबाट दृष्टिविहीन ८ जना र सिर्जना बहिरा मावि बाट २० जना विद्यार्थीले एसइइ दिदैछन् । सिर्जनाका ती विद्यार्थीको लागि लक्ष्मी मावि केन्द्र तोकिएको छ । बाल सुधार गृहबाट १६ जनाले परीक्षा दिने छन् । उनीहरूको लागि बरपाटन परीक्षा केन्द्र तोकिएको छ ।
प्रश्न पत्र र उत्तरपुस्तिकाको सुरक्षाका लागि ११ वटा सुरक्षा पोष्ट रहेको बताउँदै प्रमुख आचार्यले सबै ठाउँमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको जनाए । उनले विद्यार्थीलाई राम्रो वातावरणमा शान्तिपूर्ण र मर्यादित ढङ्गले परीक्षा सञ्चालन गर्नको लागि केन्द्राध्यक्षलाई जिम्मेवारी दिएको खुलाए । परीक्षाकाे समयमा अनावश्यक व्यक्तिलाई कक्षा कोठामा पस्न, फोटो, भिडियो खिच्न र अनावश्यक प्रश्न गर्न निषेध गरिएको छ ।
अनुगमनकर्ता र पर्यवेक्षक समेत कार्ड बिना प्रवेश गर्न पाउनेछैनन् । जनप्रतिनिधि लगायतलाई केन्द्र बाहिरै रहेर परीक्षाको वातावरण बनाउन उनको आग्रह छ । यो परीक्षालाई लिएर आत्तिनुपर्ने अवस्था नभएको भन्दै विद्यार्थीको मनोबल उच्च बनाउन अभिभावकले ख्याल गर्नुपर्ने बताए । विद्यार्थीको लागि आवश्यक पर्ने प्रवेशपत्र लगायतका सामाग्री नछुटाउने बारेमा अभिभावक वा सम्बन्धित विद्यालयले ध्यान दिनुपर्नेमा उनको जोड छ । सबै विद्यार्थीलाई मनोबल उच्च बनाएर ढुक्क भएर परीक्षा दिन उनको आग्रह छ । परीक्षा दिने क्रममा अनुशासनलाई ध्यान दिन आग्रह गर्दै अनुशासनहीन काम गरेमा भने कारवाही गर्न बाध्य हुने प्रष्ट पारेका छन् । परीक्षा चैत्र १९ सम्म सञ्चालन हुनेछ ।
