पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरू सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा जारी राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन् ।
सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागीय डर्बीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागीय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे । समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अङ्क बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् । समूह ‘बि’ तर्फ आर्मीले लुम्बिनीलाई ३७–२१ ले हराउँदै कुल ६ अङ्कका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे । सो समूहबाट एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले आइतबार लुम्बिनी प्रदेशलाई हराएको थियो । एपीएफको ३ अङ्क रहँदा लुम्बिनी अङ्कविहीन हुँदै बाहिरियो । समूह ‘ए’ तर्फकै अर्को खेलमा कर्णालीले सुदूरपश्चिमलाई ३७–२७ गोलले हरायो । कर्णालीको जितमा महेश थापाले ११ गोल गरे । समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७–२५ ले हराएपनि कोशीले सेमिफाइनलमा स्थान बनाएको छ । तीन खेल खेलेको गण्डकी विजेता बन्दै कुल ९ अङ्क रह्यो । सोही समुहबाट कोशी र कर्णालीको समान चार/चार अङ्क रहेपनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो । कोशीले कर्णाली भन्दा ३ गोल कम खाएको थियो ।
अब सेमिफाइनलमा घरेलु टोली गण्डकीले एपीएफको सामना गर्नेछ भने आर्मीले कोशीको । प्रतियोगिताको उपाधि भिडन्त समेत भोलि नै हुनेछ । प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश र दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्याण्डबल सङ्घ गण्डकीकी उपाध्यक्ष शान्ति थापा वैद्यले जानकारी दिइन् । समापन समारोह गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने गण्डकी प्रदेश ह्याण्डबल सङ्घका अध्यक्ष केशव पाठकले जनाए ।
