पोखरा । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्य तारा खेल महोत्सव अन्तर्गत नेकोस कप फुटबल प्रतियोगितामा विष्णु पादुका क्लब हेम्जा र एल सी ब्रदर्श युनाइटेड सेमिफाइनलमा प्रवेश गरेका छन् । 

मङ्गलबारका विष्णुपादुका क्लब हेम्जाआरएस बिचको पहिलो खेलमा विष्णु पादुका २–१ गोल अन्तरले विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए । मङ्गलबारको  एलसी ब्रदर्श र गण्डकी प्रदेश प्रहरी क्लबबीचको दोस्रो खेल निर्धारित समयमा बराबरी भएपछि ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा डिफेन्डिङ च्याम्पियन  एल सी ब्रदर्श युनाइटेडका गोलकिपर सन्दिप क्षेत्री नायक भन्दा खेल एल सी ब्रदर्शको पक्षमा गएको थियो । उनले गण्डकी प्रदेश प्रहरी क्लबका दुई पेनाल्टी प्रहार रोकेका थिए ।

अब बुधबार पहिलो सेमिफाइनल खेल आयोजक सूर्य तारा क्लब र विष्णु पादुका क्लब हेम्जाबीच हुने अध्यक्ष पुनले जानकारी दिए । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । सूर्य ताराले कृष्णदल गणलाई पराजित गरेर सेमीफाइनलमा पुगेको हो  । विष्णु पादुकाले भने पहिलो खेलमा अन्नपूर्ण गाउँपालिका र दोस्रो खेलमा ट्राइबेकर मार्फत ४–२ ले आरएस बिचलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

फूटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने  अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

 चैत्र २ गते सम्म हुने खेल महोत्सवमा फुटबलका अलावा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश रहेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका महासंघ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0