पोखरा । गण्डकी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको आवश्यक तयारी पुरा भएको छ । माघ २२ गतेबाट सुरु हुने यो खोप अभियान फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुँदैछ । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार प्रदेशस्तरीय खोप समितिका पदाधिकारीका लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै खोप पूर्णरुपमा सुरक्षित रहेको जनाएको छ । साथै निशुल्क उपलब्ध हुने र जीवन रक्षा गर्ने भएकाले १० देखि १४ वर्षसम्म उमेर समुहका सबै किशोरीलाई खोप लगाउन निर्देशनालयले अनुरोध गरेको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अभियान सफल बनाउन सबैको साथ सहयोग चाहिएको बताए । यो संवेदनशिल विषय भएकोले मन्त्रालय, स्थानीय तह सहित सबैजना मिलेर अभियानलाई सफल बनाउनुपर्नेमा उनको जोड थियो ।
गण्डकी प्रदेशका १ लाख ५ हजार ४ सय ७९ जनलाई खोप दिन लागिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सङ्ख्या ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरूको हो । खोपका लागि विद्यालय र अन्य स्थानमा गरी २ हजार ५ सय ४ खोप केन्द्र तोकिएको निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काले बताए । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई एचपिभी खोप दिने, ३० देखि ४९ वर्ष उमेरका महिलाको पाठेघरको मुखको परीक्षण स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिने लक्ष्यमा छन् ।
महानिर्देशक खड्काले खोपको प्रभावकारिता लगभग शतप्रतिशत रहेकाले ढुक्क भएर अभियानमा साथ दिन अनुरोध गरे । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका जिल्लामा यो अभियान सञ्चालन हुनेछ ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसबाट सङ्क्रमण हुनु हो । यसलाई छोटकरीमा एचपिभी भनिएको हो । यो भाइरसबाट सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्कका माध्यमबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । भाइरसबाट पटक पटक सङ्क्रमण भएर २० वर्षसम्म यो सङ्क्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।
नेपालमा वर्षेनी २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र उनीहरूमध्येका वर्षमा १ हजार ३ सय १३ जना अर्थात दैनिक ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ । महिलामा हुने क्यान्सर मध्ये यो दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको छ । यसको निवारणका लागि नेपाल सरकारले अभियान थालेको हो । खोप सेवा उपलब्ध गराउने, स्क्रिनिङ र उपचार सेवाको कभरेजमा कम्तीमा ९० प्रतिशत सफलता हासिल गर्ने लक्ष्य सरकारको छ ।
नेपालमा २०७२ सालमा पहिलोपटक चितवन र कास्की जिल्लामा एचपिभी खोप सेवा पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरिएको थियो । त्यसबेला कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई ६ महिनाको फरकमा दुई मात्रा खोप दिइएको थियो ।
गत वर्ष सातवटै प्रदेशका एकएक अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६ महिनाको फरकमा दुई मात्रा खोप दिइएको थियो। निर्देशनालयका खोप अधिकृत एकनारायण लम्सालले लक्षित उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने हुँदा एचपिभी खोप सेवा विद्यालयमा आधारित खोप केन्द्रबाट दिनु बढी प्रभावकारी देखिएको जनाए । उनले अभियान सफल पार्न विभिन्न कार्यक्रम गरिएको पनि बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले जनस्वास्थ्य र महिला अधिकारको हिसावले ठुलो अभियान भएकाले यसलाई सफल पार्नु सबैको दायित्व रहेको बताए । उनले खोपको सबै तयारी पुरा भएको बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अभियान सफल बनाउन सकारात्मक प्रचार र प्रभावकारी अनुगमन हुनुपर्ने बताए । गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष एवं कास्कीको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अभियानले ठूलो फाइदा स्थानीय तहलाई नै हुने भएकाले यसको प्रभावकारीताका लागि समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । निर्देशनालयका जनस्वास्थ्य अधिकृत बद्रीराज आचार्यले एचपिभी खोप अभियानबारे बारम्बार सोधिने प्रश्नहरुको बारेमा जानकारी गराएका थिए ।
