पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको औद्योगिक व्यापार मेलाअन्तर्गत क्यान कास्कीले आयोजना गरेको ‘गण्डकीको समुन्नति : पर्यटन र प्रविधि’ विषयक परिसंवाद कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्लोलोजी (जिपास्ट)का पूर्वकार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी तथा बाराही हस्पिटालिटी प्रालिका अध्यक्ष हरिप्रसाद पौडेल वक्ताको रुपमा सहभागी थिए । १२ औं क्यान इन्फोटेक अन्तर्गत आयोजित सो कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रघुनाथ वाग्लेले गरेका थिए ।
कार्यक्रममा पर्यटन उद्योगलाई कसरी सूचना प्रविधिसँग जोड्ने तथा त्यसमा अहिले भइरहेका पहल के छन् भन्नेबारे बढी चर्चा भएको थियो । सो उपक्रममा तीनैजना वक्ताले पर्यटन उद्योगमा सूचना र प्रविधिको प्रयोग अपरिहार्य रहेकोमा सहमति जनाए । उनीहरूले पर्यटकीय राजधानी घोषणा भएको पोखराले प्रविधिको प्रयोगमा बढावा दिनुपर्ने र त्यसको लागि राज्यले सहजीकरण गर्नुपर्ने सुझाव पनि दिए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने भनेर अध्ययन कार्यदलको संयोजकसमेत रहेका उपाध्यक्ष देवकोटाले आफूले तयार पारेको सुझाव प्रतिवेदनमा टेकेर अगाडि बढे स्वतः पर्यटनमा सूचना प्रविधिको प्रयोग हुने धारणा राखे । उनले सडक राज्यले बनाइदिने अनि ब्रान्डिङ तथा पर्यटन उद्योगमा लगानी चाहिँ निजी क्षेत्रले नै गर्नुपर्ने पनि बताए ।
गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (जिपास्ट)का पूर्वकार्यकारी निर्देशक डा.ढाकाराम भण्डारीले सूचना प्रविधिको प्रयोगले रोजगारी घटाउने सम्भावना रहे पनि प्रयोग चाहिँ गर्नैपर्ने बताए । बरु त्यो प्रविधि नेपालकै प्रयोग गर्ने कि विदेशबाट आयात गर्ने भन्नेतर्फ राज्यले सोच्नुपर्ने उनको धारणा थियो ।
बाराही हस्पिटालिटी प्रालिका अध्यक्ष हरिप्रसाद पौडेलले देशका विभिन्न भागमा रहेका होटलको रेखदेख नै आफूले प्रविधिमार्फत गरिरहेको बताउँदै पर्यटन उद्योगमा प्रविधि अपरिहार्य रहेको बताए ।
उनले सूचना प्रविधिका कारण विदेशको काम पनि नेपालबाटै गर्न सकिने अवस्था आए पनि इन्टरनेट र विद्युत नहुँदा समस्या पर्ने गरेको सुनाए ।
‘यहाँ त्यस्ता पर्यटक धेरै आउँछन् । यहाँ बसेर अमेरिकाको काम गर्छन् । ६/७ महिनाको भिसा लिएर आउँछन् । उनीहरूलाई यहाँको बसाइ सस्तो पर्छ । कम्प्युटरमा काम गर्छन् । तर, उनीहरु काम गर्दै गरेका हुन्छन्, त्यही बेला बत्ती जान्छ, इन्टरनेट गइदिन्छ । त्यसपछि थुक्क भन्छन्,’उनले भने ।
