पोखरा । पोखरामा आयोजना हुने एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी प्रतियोगितामा दुई विदेशीसहित ६–६ टोलीले भाग लिनेछन् ।
माघ १२ देखि १९ गतेसम्म पोखरा रङ्गशालामा हुने यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ श्रीलङ्कन आर्मी भलिबल टिम सहभागी हुनेछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागिता जनाउने छन्। महिलातर्फ सहभागी हुने टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल रहने छन् ।
यसपालि आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ । पाँचौँ संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
प्रतियोगितालाई अन्तराष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको शर्माको भनाइ छ । प्रतियोगिताका खेलहरू एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ । प्रतियोगिता पाचौँ संस्करणसम्म आइपुग्दा विदेशी टिमहरूले भाग लिनु नेपाली भलिबल प्रेमीका लागि सुखद भएको अध्यक्ष शर्माले बताए ।
पाँचौँ टाइगर कप भलिबलमा दर्शक क्षमता बढाएर २ हजार पुर्याएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिताको संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । अघिल्ला संस्करणमा दर्शकको चापलाई मध्यनजर गर्दै दर्शक क्षमता बढाइएको उनको भनाइ छ ।यस संस्करणमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरिएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ ।
प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताबाट बचत भएको रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको छ ।
