पोखरा । सँधै वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पँगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन । प्राय महोत्सवहरूमा आमा दिदीबहिनीहरूलाई लक्षित गरी प्रस्तुत हुने बद्री पँगेनीले पोखरा महोत्सवको आठौँ दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखे ।

भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका पँगेनीले युवाहरू माझ लोकप्रिय बनेको चिना हेराउँदा भन्ने गीत प्रस्तुत गर्दा दर्शकहरू बद्री सँगै झुमे । बद्रीले झ्याउरे, ससुराली लगायतका गीतहरू सँगै दोहोरी समेत गाएका थिए ।

महोत्सवमा बद्री पँगेनी संगै चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरिता सारू मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा (म्याकुरी) को प्रस्तुती मार्फत दर्शकहरूले मनोरञ्जन लिए । त्यसैगरी साँझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुतीमा युवाहरू झुमे ।

महोत्सवको आठौँ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकहरूको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा दर्शकको उपस्थिति सँगै महोत्सवमा राखिएका स्टलहरूमा समेत उल्लेख्य मात्रामा ब्यापार भएको महोत्सव अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

महोत्सवको नवौँ दिन लोकदोहोरी तर्फ श्याम राना, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, सरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगर र हाँस्य ब्यंग्य तर्फ पुर्खे बाको प्रस्तुती रहने महोत्सव कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी साँझको लाइभ कन्सर्टतर्फ रक हेड्सको प्रस्तुती रहने समेत संयोजक तिमिल्सिनाले जानकारी दिए ।

त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार  कास्की मोडर्नाइज्ड स्कुल, बाल कल्याण बीचको प्रतिस्पर्धामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0