पोखरा । कास्की जिल्लाको मानव अधिकारको अवस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
पौडेलले मानव अधिकार सम्बन्धी पाचौं राष्ट्रिय कार्ययोजना र अबका बाकी दायित्वका सन्दर्भमा प्रकाश पारेका थिए। पौडेलले मानव अधिकार कानुन र ऐन नियम र कानुनको कडाइका साथ कार्यान्वयनको विकल्प नभएको भन्दै कास्की जिल्ला मानव अधिकार मैत्री जिल्ला बनाउन सबैको सामूहिक प्रयास जरुरी भएकी बताए ।
कार्यक्रममा इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना सहित मानव अधिकारको विश्वव्यापी घोषणा पत्र सन १९४८, मानव अधिकारको परिपालनामा जिल्ला तथा पालिकास्तरीय समितिको भूमिका र जिम्मेवारी सम्बन्धमा अवधारणा पत्र पेश गरेकी थिइन्।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका अधिकृत मोहन काफ्लेले संयुक्त राष्ट्र सङ्घ मानव अधिकार सम्बन्धी सन १३२५ र १८२० का प्रावधान र कार्यान्वयनमा रहेका चुनौतीको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा कास्कीका जिल्ला न्यायधिवक्ता कमला काफ्ले, राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख नितु गड्तौला, नागरिक समाजका अगुवा राम बहादुर पौडेल, गैरसरकारी संस्था महासङ्घका केन्द्रिय सदस्य बिना सिलवाल, गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा सहितले कास्कीको मानव अधिकारको अवस्था, कार्यान्वयन र चुनौती सन्दर्भमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
अन्तरक्रियामा मानव अधिकार सम्बन्धी सरकारी निकाय ,कास्कीस्थित पालिकाका प्रतिनिधि सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
