पोखरा । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको पोखरामा सम्पन्न भएको छैटौँ अधिवेशनले दीननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बरालको नेतृत्वमा आगामी ३ वर्षको लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
जसको उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) शोभा बराल सचिवमा लिलाचन्द्र अधिकारी (सरोज), सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल रहनु भएको छ भने अन्य सदस्यहरूमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल चयन भएका हुन् । उक्त कार्यसमितिमा २ जना सदस्य पुनः थप गर्न सकिने निवर्तमान अध्यक्ष कृष्ण दवाडीले बताए ।
त्यसैगरी केन्द्रिय परिषद सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर),पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष नेपाली र श्यामसुन्दर पराजुली(राज) चयन भएका छन् । त्यस्तै प्रदेश परिषद सदस्यमा श्रीभद्र पौडेल, सुरेशराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, राम्जी प्रसाद आचार्य, मिनाकुमारी थापा, सन्देश श्रेष्ठ, रबिनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरन्जिवी पौडेल (उत्तम),सविना राना, लिलानाथ आचार्य, कृष्ण पोखरेल (शान्ति) चयन भएको निर्वाचन कमिटी संयोजक विश्वप्रकाश लामिछानेले बताए ।
यस अगाडि अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिको भ्रष्टिकरण राज्य सत्ताको रूपान्तरणको अभियान अवरुद्ध भएको बताए । उनले नेपालमा एकै पटक विकासका धेरै सम्भावना रहेका औँल्याउँदै सम्भावना हुँदाहुँदैपनि भ्रष्टाचारका कारण समस्या रहेको उल्लेख गरे । यहाँको जलस्रोत, जलऊर्जा, कृषि, पर्यटन जस्ता असाध्य धेरै सम्भावना हुँदाहुँदै राजनीतिक भ्रष्टिकरणकै कारण देश पछाडि परेको उनको कथन थियो ।
आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचारलाई रोक्न गरेको प्रयासलाई ठूलै शक्ति लगाएर रोक्ने प्रयास गरेको उनको भनाई छ । देशमा भएका राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि विदेशमा रहेका ३० लाख श्रमिकलाई देशमै अवसर देखाएर फर्काउन सक्नुपर्ने उनले धारणा राखे ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रमा पनि शुद्धिकरणको आवश्यकता औंल्याए । उनले अरु केही व्यवसाय नभए एउटा मोबाइल लिएर अनलाइन चलाउनेकाम पत्रकारिता भित्रका विकृतिका रुपमा औंल्याए । आलोचनात्मक चेत विना र अध्ययन विना पत्रकार बन्न नसकिने उनको भनाई थियो । साथै पत्रकारितामा साहसको जरुरी रहेको समेत उनले धारणा राखे ।
सोही कार्यक्रममा पत्रकार दीपक परियारलाई थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट शनिवार पोखरामा अर्पण गरियो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । परियारलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे । पत्रकारद्वय थमन परियार र महेश पहारीको स्मृतिमा प्रेस सेन्टर कास्कीले पुरस्कार स्थापना गरेको थियो । सेन्टरले हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ । पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
![](https://kotkhabar.com/wp-content/uploads/2024/08/IMG_0305-1.gif)