पोखरा । लेखनाथमा पुस १८ गतेदेखि जारी २० औं संस्करणको लेखनाथ महोत्सवस्थल किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा आएर रमाइलो पनि हेर्न पाइने र घर फर्कँदा आफूलाई आवश्यक स्वदेशीदेखि विदेशी सामानहरू सुपथ मूल्यमा पाइने भएपछि महोत्सवस्थल व्यापारीक केन्द्र बिन्दु बनेको हो ।
महोत्सवमा आएका दर्शकहरूले घर फर्कँदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा व्यापारको कारोबार बढेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष ध्रुवबाबु भट्टराईको दावी रहेको छ । महोत्सवमा राखिएका ३ सय ३६ फरकफरक प्रकृतिका स्टलहरूमा दैनिक उपभोग्य सामानहरू पाइने भएपछि उपस्थित दर्शकहरू खुसी हुँदै फर्केको देखिन्छन् भने व्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट रहेको बताएका छन् ।
माघ १ गतेसम्म चल्ने महोत्सव आठौँ दिनमा चलिरहँदा बिहिबारमात्रै ४० लाख बराबरको आर्थिक कारोबार भएको र अहिलेसम्म ३ करोड ७५ लाख बराबरको कारोबार भएको स्टलमा गरिएको व्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् । वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्हदेखि दर्शकको चाप बाक्लो देखिथ्यो । दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । यसैबिच विहीवार मात्र १५ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ ।
महोत्सवको आठौँ दिन कलाकारहरू राजु गुरुङ, पूर्णकला बीसी, जीवन दाहाल, पार्वती जिसी, रामजी पौडेल, रामप्रसाद ढकाल र वसन्ती थापाले प्रस्तुती दिएका थिए भने हास्य कलाकारहरू युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुतीले दर्शकहरूलाई हँसाएको थियो । बेलुका कन्सर्टमा गायक आशिष राना ‘लाउरे’ को प्रस्तुतीले स्टेज तताएको थियो । लाउरेको प्रस्तुती हुने भएपछि अपरान्हदेखि नै महोत्सवमा युवा युवतिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । शुक्रबार कलाकारहरू पुष्कल शर्मा, सम्झना लामिछाने मगर, कुमार पुन, जीवन दाहाल शिवहरी ढुङ्गाना, इन्द्र गुरुङ, मिरा पोखरेल, अमर धितालको प्रस्तुती रहनेछ भने बेलुका कन्सर्टमा दुर्गेश थापा र अस्मिता अधिकारीको प्रस्तुती रहने कलाकार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिएका छन ।
महोत्सवको थप आकर्षणको रुपमा रहेको युगल नृत्य प्रतियोगिता अन्तर्गत बिहिबारसम्म सहभागि २४ जोडी मध्ये १६ जोडी बाहिरिएका छन भने ८ जोडी सेमिफाइनलको लागि छनोट भएका खुला युगल नृत्य प्रतियोगिताका संयोजक धिरज कुमार श्रेष्ठले जानकारी दिएका छन ।
महोत्सवमा गाडी देखि साडी सम्म र नुन देखि सुन सम्म एकै ठाउँमा पाइने भएपछि उत्पादक र उपभोक्ताको सङ्गम स्थलका रुपमा महोत्सवलाई लिइएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग वाणिज्य सङ्घले गरे पनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा परिचित भएको निवर्तमान अध्यक्ष छत्रधर आत्रेयको दावी छ ।