पोखरा । पोखरामा नाटक ‘सपना डिलक्स काेच’ मञ्चन हुने  भएको छ । आगामी माघ ११ गते शुक्रबारबाट मञ्चन सुरु हुने नाटकको रिहर्सल यतिबेला पोखरा नदीपुरमा रहेको निर्माणाधीन हंस ध्वनि नाटकघरमा भइरहेको छ । 

 इन्द्रेणी थिएटरको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको नाटक केदारनाथ पौडेलले लेखेका हुन् । झण्डै एक वर्ष अगाडि लेखेको नाटकमा पोखराबाट छुटेर देशका विभिन्न ठाउँमा जाने गाडीहरूका दुःख समावेश छ । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जिविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा थाहा पाउन नाटक हेर्नुपर्ने हुन्छ । नाटक मार्फत विभिन्न आयामहरूलाई देखाएर दर्शकको माया बटुल्नको लागि नाटक युनिटले प्रयास गरिरहेको छ । 

लेखक पौडेललाई थुप्रै पटक काठमाडौँ जाने आउने हुँदा देखिएको विषयवस्तुले छोएकाे थियो । यो त उठाउनुपर्ने विषय रहेछ भन्ने निष्कर्षमा पुगेपछि नाटक लेख्न थाले । अनि तयार भयो यस नाटककाे कथा । सबै मानिस बस चढेर गन्तव्यमा पुगेपनि यसरी गन्तव्यमा पुर्‍याउन सघाउने बस र त्यसका कामदारका समस्या के हुन्  भन्ने यात्रुले खासै ध्यान नदिने गरेको अवस्थामा यसलाई नाटक मार्फत बाहिर ल्याउन कस्सिएको उनको भनाई छ । नाटकलाई सुन्दर बनाउन झण्डै २० दिनदेखि रिहर्सल भैरहेको छ । नाटक मञ्चन हुने दिन आउन केही दिन बाँकी रहँदा टिमको मेहनतको कारण दिनप्रतिदिन नाटकमा निखारता थपिदै गएको उनले सुनाए । सामान्य शैलीमा कथा भन्ने तरिकालाई फरक गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदरको आतङ्कलाई समेत जोडिएकोले दर्शकलाई मनोरञ्जन मिल्ने उनको विश्वास छ ।

 नाटक पोखरा गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १९ गतेसम्म लगातार मञ्चन हुनेछ । यस नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारी लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ । 

यो नाटकको निर्देशन लक्ष्मण डुम्रेले गर्दैछन् । निर्देशक डुम्रेले पनि नाटकलाई रिहर्सल मार्फत माझ्दै अगाडि बढाइरहेको बताए । आफूहरूको तर्फबाट शतप्रतिशत दिने कोसिस गरिरहेका भन्दै दर्शकले  नाटक मन पराउने आशा बढ्दै गएको सुनाए । नाटकमा रात्रिबस चलाउने ड्राइभरको मनोविज्ञानलाई केन्द्रित गरिएको उनको भनाइ छ । सवारी साधन चलाउँदा उसको दिमागमा खेलिरहेका कुराहरू समावेश गरिएको र यो खालको नाटक पोखरामा पहिलोपटक मञ्चन गर्न लागिएको दावी उनले गरे । स्टेजमा यात्रा देखाउनुपर्ने भएकोले चुनौती भएपनि राम्रो बनाउने  कोसिस गरिरहेको निर्देशक डुम्रेले बताए ।

 

केही वर्षको ग्यापमा अभिनयको माध्यमबाट रंगमञ्चमा फर्किन लागेका  कपिल शर्माले नाटकलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिए । आफ्नो कमव्याकलाई सुखद बनाउदै दर्शकको ध्यान खिच्नको लागि केही प्रयोग गर्न खोजेको समेत उनले सुनाए । 

अर्का कलाकार दिलप्रसाद गुरुङले आफूले प्राप्त गरेको भूमिकालाई न्याय गर्नको लागि मेहनत गरिरहेको बताए । रिहर्सल मार्फत निखारता थपिदै गएको बताएका उनी नाटकलाई लिएर उत्साहित समेत छन् । झण्डै १ घण्टा १५ मिनेट हाराहारीको यस नाटकमा समावेश कोरसले समेत नाटकलाई आर्कषक बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
1
+1
0
+1
0