लेखनाथ । लेखनाथ उद्योग वाणिज्य सङ्घले यही पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

 पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य सङ्घले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनहरूको प्रर्दशनी एवं बिक्री गरिने बताए । 

यस्तै महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव जानुका पराजुलीले देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरूको बजार प्रवर्द्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटकहरू आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताइन । 

 नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अग्रजले देखाएको वाटोलाई पच्छाउदै जानु पर्ने सुझाव राखेका थिए । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष माधव बरालले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्रान्डिङ गरिनुपर्ने बताउँदै सङ्घले २० औ वर्ष देखि अगाडि सारेको नाराले न्याय भएको छ त भनेर प्रति प्रश्न उठाएका थिए । उनले महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण एवं जगेर्ना गर्दै स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण पनि गर्ने भएकाले यसका पत्रकार महासङ्घ कास्की शाखा सँधै साथमा रहेको बताउँदै महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 यस्तै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक सङ्कटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीहरूलाई उत्प्रेरित गर्ने खालका कार्यक्रममा जोड दिएका थिए भने प्रायोजकहरूको तर्फबाट सगरमाथा लुम्बिनी इन्स्युरेन्स कम्पनीका लेखनाथ शाखा प्रमुख शङ्करराज तिवारीले महोत्सवले आर्थिक उपार्जनको साथमा व्यवसायिक ज्ञानका बारेमा पनि जानकारी गराउनु पर्नेमा जोड दिएका थिए ।

 महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा शान्तिका दुत भगवान गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारीयम मार्फत एक सय भन्दा बढि माछाका प्रजातीहरुको अवलोकन, महिलाहरुो क्षमता अभिवृद्धिका लागी पहिलोपटक आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगिता, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवर्द्धन, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जगेर्ना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रस्तुती, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।

 महोत्सवको विद्यालय स्तरीय कार्यक्रम अर्न्तगत पुस ११ गते बिहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलबाट विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ । महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ भने विभिन्न जातजातिहरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु रहनेछन । महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । 

महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुर्ण भुमिका खेलेको दावी गरेका थिए । सङ्घका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप–महासचिव भरतराज ओझाले गरेक थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

 ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४८ उपसमिति, आवश्यकता अनुसार थप गर्न सकिने गरि १५३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । ३३६ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0