बार्सिलोना । स्पेनको बार्सिलोनामा विभिन्न देशका ३३ जना पत्रकार र सञ्चारकर्मी सम्मानित भएका छन् । क्याटालोनिया सरकारको नेतृत्व गरिरहेको सत्तारुढ दल सोसियलिस्ट पार्टी अफ क्याटालोनियाको नागरिकता र विविधता विभागले बिहीबार साँझ एक समारोहबीच पत्रकार, सञ्चारकर्मी, टेलिभिजनकर्मी र फोटो पत्रकारहरुलाई सम्मान गरेको हो।
कार्यक्रममा पोखरेली पत्रकार बसन्त रानाभाटलाई विशेष सम्मान प्रदान गरिएको थियो। झन्डै डेढ दशकदेखि स्पेनमा बसोबास गर्दै आएका रानाभाटको पत्रकारिता क्षेत्रमा दुई दशक लामो अनुभव छ। उनी हाल अनलाइनखबर डटकमको युरोप क्षेत्रमा समाचार संयोजकको रुपमा कार्यरत छन्।
पोखरा महानगरपालिका -२१ कृस्ति मूल घर भएका रानाभाटलाई स्पेन सरकारका क्याटालोनिया प्रतिनिधि कार्लोस प्रिइटो गोमेजले सम्मानपत्र हस्तान्तरण गरेका थिए।सम्मान समारोहमा बोल्दै कार्लोस प्रिइटो गोमेजले स्पेनको बहुसांस्कृतिक समाजलाई मजबुत बनाउन सञ्चारकर्मीहरूले पुर्याएको योगदानको प्रशंसा गरे।
उनले भने, “सञ्चारकर्मीहरूले केवल सूचना प्रवाहमा मात्र होइन, देशभित्रका विविध समुदायहरूबीच समझदारी र सहिष्णुताको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूको यो योगदान सराहनीय छ।” सम्मान ग्रहण गरेपछि पत्रकार वसन्त रानाभाटले कार्यक्रममा मन्तव्य राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै गौरवान्वित र खुशी भएको बताए। उनले भने, “यो सम्मान मेरो लागि मात्र नभएर नेपाल र नेपाली समुदायका लागि पनि हो। मलाई विश्वास छ, यसले हाम्रो संस्कृतिबीचको सम्बन्धलाई अझ बलियो बनाउनेछ।”
कार्यक्रममा क्याटालोनिया प्रदेशका सांसद एरनेस्तो कारिवनले संयोजनको भूमिका निर्वाह गरेका थिए। उनले बहुसांस्कृतिक समाज निर्माणमा सञ्चारकर्मीहरूको योगदान महत्त्वपूर्ण रहेको बताउँदै भने, “यो सम्मानले क्याटालोनियाको सामाजिक विविधता र सह-अस्तित्वको मूल्यलाई झल्काउँछ। यहाँ बसोबास गर्ने विभिन्न समुदायका सञ्चारकर्मीहरूले समावेशी समाज निर्माणमा पुर्याएको योगदान अमूल्य छ।”
२० भन्दा बढी देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा एनआरएनए स्पेनका पूर्व अध्यक्ष शालिकराम डुम्रे, पूर्व आइसीसी सदस्य दिनेश गिरी, एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाट लगायत नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो।