पोखरा । पोखरा–१७, रातोपैरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नेको सङ्ख्या २९ लाख नाघेको छ ।  यहीं मंसिर १६ गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म यहाँ जानेको सङ्ख्या २९ लाख १९ हजार ५ सय ४३ पुगेको हो ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेका अनुसार यो आर्थिक वर्षको मंसिर १६ गतेसम्म ६० हजार ४ सय ९६ जनाले सङ्ग्रहालयको अवलोकन गरे ।  अवलोकन गर्नेमा सबैभन्दा धेरै विद्यार्थी छन् ।  यो आर्थिक वर्षमा मात्रै २९ हजार ६ सय ७० विद्यार्थी यहाँ पुगे ।

 यस्तै नेपाली १२ हजार २ सय १५ जना, विदेशी पर्यटक ९ हजार ७ सय ९१, सार्क मुलुकका पर्यटक ४ हजार ६ सय ९७, नेपालमा बसोबास गर्ने विदेशी ४९ जनाले सङ्ग्रहालयको अवलोकन गरेका छन् । यो आर्थिक वर्षमा सङ्ग्रहालयमा रहेका बगैँचा मात्र घुम्ने ६ सय ८७ जना तथा निःशुल्क अवलोकन गर्ने ३ हजार ३ सय ६१ जना छन्।  यो तथ्याङ्क फोटोसुट र भिडियो सुट गर्नेको बाहेक हो ।

२०६० साल माघ २२ गतेबाट सञ्चालनमा आएको सङ्ग्रहालय स्थापना भएको आर्थिक वर्षमा १४ हजार २ सय १७ जनाले सङ्ग्रहालय अवलोकन गरेका थिए भने त्यसपछाडि हरेक आर्थिक वर्षमा सङ्ग्रहालयमा पुग्ने अवलोकनकर्ताको सङ्ख्या बढेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष ०६१/०६२ मा ३७ हजार १ सय २, ०६२/०६३ मा ५५ हजार ६ सय १९, ०६३/०६४ मा ७२ हजार २ सय ९३, ०६४/०६५ मा ८२ हजार ५ सय ९०, ०६५/०६६ मा ९५ हजार ५ सय २६, ०६६/०६७ मा १ लाख ३ हजार ४ सय ७८, ०६७/०६८ मा १ लाख ३५ हजार ३ सय ८३, ०६८/०६९ मा १ लाख ५३ हजार ३ सय ९०, ०६९/०७० मा १ लाख ५९ हजार ७ सय ५१, ०७०/०७१ मा १ लाख ७१ हजार २ सय ९० र ०७१/०७२ मा १ लाख ७८ हजार २ सय ९० जनाले अवलोकन गरेका थिए ।

अवलोकन गर्न पुग्नेको सङ्ख्या ०७२/०७३ मा भने घटेर १ लाख ३५ हजार ४ सय १४ जनामा झरेको थियो । पुनः ०७३/०७४ मा यो सङ्ख्या बढेर २ लाख ५२ हजार २४ पुग्यो ।

०७४/०७५ मा २ लाख ६१ हजार २ सय ५४, ०७५/०७६ मा हालसम्मकै उच्च २ लाख ६९ हजार ६ सय ३८ जनाले सङ्ग्रहालय अवलोकन गरेका थिए । ०७६/०७७ मा पुनः सङ्ख्या घटेर १ लाख ८९ हजार ७ सय १६ मा झर्‍यो । कोभिड १९ का कारण आर्थिक वर्ष ०७७/०७८ मा सङ्ख्या घटेर ४५ हजार ६ सय २, ०७८/०७९ मा १ लाख ३७ हजार ४ सय ८४, ०७९/०८० मा १ लाख ९७ हजार ९ सय ९९ र ०८०/०८१ मा १ लाख ७० हजार ८ सय ८५ जनाले अवलोकन गरेको सङ्ग्रहालयको तथ्याङ्कले देखाउँछ । यो सबै तथ्याङ्क फोटोसुट र भिडियो सुट बाहेकको हो ।

सङ्ग्रहालय अवलोकनका लागि छुट्टाछुट्टै अवलोकन शुल्क निर्धारण गरिएको छ ।  एक सय रोपनी क्षेत्रफलमा फैलिएर यो सङ्ग्रहालय हिमाल तथा हिमाली भेगको जनजीवनको बारेमा जानकारी लिन चाहनेहरूका लागि ज्ञान प्राप्त गर्ने उचित ठाउँ भएको कारण यहाँ पुग्न खोज्नेका सङ्ख्या र चासो बढ्दै गएको सङ्ग्रहालयको कार्यकारी निर्देशक न्यौपानेको भनाई छ । हिमाली जनजीवन सहितका जानकारी लिन पुग्नेहरूलाई सङ्ग्रहालयमा जानकारी दिँदै अवलोकन गर्ने व्यवस्था मिलाइने भएकोले बुझ्न खोज्नेलाई सहजता हुने उनले खुलाइन् ।

मगर, किराँत, छन्त्याल, गुरुङ, शेर्पा लगायतका विभिन्न समुदायको संस्कृतिलाई नजिकबाट चिनाउने व्यवस्था यहाँ छ । यसका अलावा जापान, ताइवान, स्लोभानीया, कोरियाको संस्कृति समेत यहाँ हेर्न पाइन्छ । शान्त वातावरणमा रहेको सङ्ग्रहालय पोखराको एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा आफूलाई उभ्याउन सफल समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0