लेखनाथ । लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आगामी पुस १८ गतेदेखि हुने ‘२०औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा/महिला समुहहरूले सघाउने भएका छन ।
माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभिन्न आमा/महिला समुहका प्रतिनिधिहरूले आ–आफ्नो तर्फबाट सक्रियतापुर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
कार्यक्रममा सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिँदै यहाँका विभिन्न सङ्घ संस्था र समुहहरूले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवहरूको पनि महोत्सव हुन सफल भएको बताएका थिए ।
उनले महोत्सवमा महिला/आमा समुहको सहभागिता रत्यौली र नाचगान कार्यक्रमहरूमा मात्र नभई सङ्घले विभिन्न तालिमहरूको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको बताएका थिए ।
यस्तै महिला/आमा समुह परिचालन उपसमितिकी संयोजक सन्ध्या दाहालले महिलाहरूको सक्रिय सहभागिताका कारण झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमहरू सफल भएको बताउँदै यस पटक पनि सहयोगको अपेक्षा गरेको बताइन ।
रत्यौली कार्यक्रम उपसमितिकी संयोजक गङ्गा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जर्गेना गर्ने बताउँदै विगत भएका कमजोरीहरूलाई सुधार गर्दै यसपालिको कार्यक्रम अझै परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्याली व्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी मगर, हाजिरी जवाफ प्रतियोगिताकी संयोजक प्रभा कुमारी पौडेल, ग्रामीण रैथाने प्रविधि व्यवस्थापन उपसमितिकी संयोजक पार्वती थापा, लगायतले बोलेका थिए ।
महिला/आमा समुह परिचालन उपसमितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन सह संयोजक अञ्जली पण्डितले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन सङ्घकी महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन ।