पोखरा । नेपाली सिनेमा क्षेत्रमा पहिलोपटक २०७५ साल साउन १ गते बक्स अफिस प्रणालीको सुरुवात भएको थियो । प्रणालीको सुरुवात भएको ६ वर्ष नाघिसक्दा समेत यसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन । समयमा नै रिपोर्ट हेर्न नपाएको कारण यसप्रतिको विश्वास बढ्न सकेन । कारोबारका विषयमा हल सञ्चालक, निर्माता र वितरक बीच अविश्वास रहेको पाइन्छ । वितरकले कलेक्सन गरेको रिर्पोट र बक्स अफिसबाट प्राप्त भएको रिर्पोट समेत फरक पर्दा यसमा अविश्वास भएको समेत देखिन्छ । अब यो समस्या समाधान हुने भएको छ । देशका हरेक सिनेमा हलमा रियल टाइममा अपडेट हुने बक्स अफिस सञ्चालन हुने भएको छ । यसको जानकारी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गराएका हुन् ।

 उनले चलचित्र विकास बोर्डको पहलमा देशका हरेक सिनेमा हलमा रियल टाइममा अपडेट हुने बक्स अफिस सञ्चालन गरिने बताएका छन् । अहिले केही राम्रा सिनेमा हलमा बक्स अफिस भएपनि रियल टाइममा अपडेट नहुने गरेको भन्दै सबै हलमा भएको कारोबार तुरुन्तै थाहा पाउने अवस्थाको सिर्जना गर्न लागेको बताएका हुन् । पोखरामा गुरुङ फिल्म एसोसिएसन नेपाल ‍(जिफान)को टिम र चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको टिमसँग संयुक्त छलफल गर्दै यो जानकारी गराए ।

 बक्स अफिस रियल टाइममा अपडेट नहुँदा कारोबारको विषयमा प्राप्त रिपोर्ट माथि आशङ्का गर्ने ठाउँ रहने बताए । ‘यो माथिको उत्तम द्वा जी को हलमा ५ जना भाइले टिकट काट्दाखेरी विकास बोर्डको स्क्रिनमा ठ्याक्क पाँचवटा काटियो भन्ने लेभलमा पुग्ने बनाउनुपर्छ भनेर मैले तीनवटा कम्पनीहरूसँग बेग्लाबेग्लै काम गरिरहेको छु’ उनले भने ।

 फिल्म रिलिज गरेपछि निर्माता तथा वितरकले कारोबारको बारेमा आरामले आफ्नै मोबाइलमा हेरेर तुरुन्तै जानकारी पाउन सक्ने बनाउन लागिएको उनले खुलाए । 

यतिबेला विकास बोर्ड आवश्यक ऐन कानुनको निर्माणमा समेत जुटिरहेको भन्दै अध्यक्ष डिसीले हाल ड्राफ्ट मन्त्रालयमा पुगेको बताए । अब त्यहाँबाट आएपछि क्याबिनेटमा पठाउने र विभिन्न समितिमा छलफल पश्चात अबको अधिवेशनबाटै पास गर्ने गरी तयारी गरिरहेको उनले सुनाए । चलचित्र क्षेत्रको सुधारको लागि गर्न लागेका कामहरूको बारेमा जानकारी दिँदै २ वर्षको काम ६ महिनामा सक्ने भनेर तीव्र गतिमा काम गरिरहेको दावी गरे । यी सबै काम आगामी बैशाख महिनासम्ममा कार्यान्वयनमा ल्याउने तयारीका साथ काम भैरहेको उनले बताए । 

चलचित्र विकास बोर्डले छिट्टै लमजुङको घलेगाउँमा चलचित्र महोत्सव गर्ने तयारी गरेको उनले जानकारी दिए । आफूले गर्न लागेका र गर्न चाहेका केही कार्यक्रमहरूको बारेमा जानकारी दिँदै त्यसमा सहकार्य गर्ने आवश्यक प्रस्तावना लिएर छलफलमा आएको खण्डमा चलचित्र पत्रकार सङ्घ नेपाल कास्की र जिफानसँग विकास बोर्डले कार्य गर्ने प्रतिवद्धता उनले जनाए ।

विकास बोर्डको नेतृत्वमा बसेर सबैको साथमा सिनेमा क्षेत्रको विकासको लागि देखिने गरी काम गर्न सक्ने खुबी आफूसँग रहेको दावी उनले गरे । नेपाली चलचित्रकर्मीहरूको सबैभन्दा ठूलो रक्त्त बैंक स्थापना गर्ने लक्ष्यका साथ आगामी वर्ष देशैभर रक्त्तदान कार्यक्रम गर्ने योजना बनाएको उनले सुनाए । जनचेतनाका लागि स्केच गर्ने, सन्देशमूलक म्याराथन प्रतियोगिता लगायतका कार्यक्रम गर्ने  उनले बताए । उनी गत १३ भदौमा चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0