पोखरा । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीहरूको टिमको समर्थन जुटाउन मोटरसाइकल र्याली कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागि पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाएको हो । दक्षिण अफ्रिकाका लिजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहकार परामर्शदाता जोन्टी रोड्स सहित पोखरेली क्रिकेट प्रेमीहरू र्यालीमा सहभागी बनेका थिए ।
गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत नौवटा सङ्घसंस्थाले संयुक्त रुपमा ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रम गरेका हुन् । राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अङ्कित झण्डाका साथ पोखराको फिस्टेल गेटबाट सुरु भएको र्याली बैदाम, हल्लनचोक, जरेबर, जिरो किमि, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल,, रानिपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक हुँदै पुनः फिस्टेल गेटमा पुगेर सम्पन्न भएको थियो ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले नेपाली क्रिकेटमा यूवाहरूको ध्यान खिच्न यस प्रकारका कार्यक्रमहरू महत्वपूर्ण रहने जनाए । उनले टिमका सल्लाहकार परामर्शदाता जोन्टीलाई पोखरा ल्याएर यहाँका क्रिकेट प्रेमीहरूको मनोबल उच्च बनाउने कार्य गरेको बताउँदै जोन्टीको नेपाल आगमन र टिममा सहभागिताले टिमको मनोबल समेत उच्च भएको बताए ।
यस्तै प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा एभेन्जर्सलाई समर्थन गर्न आग्रह गर्दै चर्चित खेलाडी जोन्टी रोड्सको उपस्थितिले समग्र क्रिकेट खेलको विकासमा माहोल बनाउन समेत भूमिका खेल्ने बताए ।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्कि रहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इङ्ग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् ।
त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्ग्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।