पोखरा । जिल्ला समन्वय समिति कास्कीले उपभोक्ता समितिका पदाधिकारी सदस्यहरूलाई मङ्गलबार तालिम सम्पन्न गरेको छ। तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।
पौडेलले विकासका काम गुणस्तरीय र टिकाउ बनाउन उपभोक्ताहरू सचेत र जागरुक हुनुपर्ने बताए । विकास आयोजनामा विभिन्न कारणले हुने ढिलासुस्तीप्रति सजग बनाउदै विकास निर्माणका कामलाई दिगो र प्रभावकारी बनाउने हेतुले तालिम आयोजना गरिएको उल्लेख गर्दै कहिँकतै लापरबाही र ढिलासुस्ती नहुनेगरी आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उपभोक्ता समितिहरूलाई क्रियाशील हुन आग्रह गरे ।
तालिममा गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर राम पराजुली र स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका इन्जिनियर जनकराज पन्तले योजना कार्यान्वयन, गुणस्तर लगायतका विषयमा सहजीकरण गरेका थिए।
सो तालिममा कास्कीका पाँच पालिकाका विभिन्न उपभोक्ता समितिका करिब पचास जना पदाधिकारी सदस्यहरू सहभागी थिए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप -प्रमुख सरिता मालले स्वागत र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।