पोखरा । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेर जानकारी दिएको छ।
यसैगरी आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गरेको छ । कोशी , बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।