पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेद्वार मनोहरी पौडेललाई विजयी गराउन बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले संस्थागत रूपमा आव्हान गरेको छ।
एशोसिएसनले पौडेलको उम्मेद्वारी व्यवसायीको हक, हित र आवाजलाई सङ्घभित्र थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै आफ्ना सदस्य तथा सम्पूर्ण उद्योगी व्यवसायी लगायत विभिन्न वस्तुगत समितिहरूलाई सक्रिय सहयोग र मतदानका लागि आह्वान गरेको हो।
एशोसिएसनका अध्यक्ष बुद्धी बहादुर कुँवर तथा महासचिव थमन सिह गुरुङद्वारा जारी अपिलमा संस्थागत एकता, आपसी सहकार्य र सामूहिक हितलाई केन्द्रमा राख्दै पौडेलको पक्षमा मतदान गरी अत्याधिक मतले विजयी गराउन आग्रह गरिएको छ।
लामो समयदेखि व्यापार–व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय पौडेल बुद्ध विशाल बजारस्थित टुईन्स कलेक्सनका सञ्चालक हुन् । उनले यसअघि पोखरा उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०८२/८३ मा मनोनीत कार्यसमिति सदस्यका रूपमा सफलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घका २८ वटा बोर्ड मिटिङ मध्य २७ वटामा उपस्थिति भएर ९६.४३ प्रतिशत सहभागिता भएर पनि उनले सङ्घ प्रतिको जिम्मेवारी गहन रुपमा लिएको अनुभव गर्न सकिन्छ । सङ्घका हरेक बैठकमा व्यवसायीहरूका समस्याहरू उठाउने गरेका पौडेल व्यवसायीका समस्या नजिकबाट बुझेका व्यक्ति हुन् ।
सरल अनि सहयोगी पौडेलले सङ्घलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र सङ्घको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।

पौडेल विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा पनि सक्रिय छन् । उनी बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका उपाध्यक्ष, त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष सुर्केमैदान सिर्जनशील क्लब पोखरा–२८ का संस्थापक अध्यक्ष पोखरा उद्योग वाणिज्य सङ्घका विभिन्न वस्तुगत समितिको प्रेस संयोजक हुन् ।
त्यस्तै, उनी फेन्सी तथा रेडिमेड व्यवसायी सङ्घ पोखराका साधारण सदस्य, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कास्कीका पूर्व सदस्य तथा प्रेस संयोजक र चापापानी सिद्धार्थ सहकारी संस्था पोखरा–१२ का शिक्षा संयोजक तथा सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन् ।
पत्रकारितामा समेत सक्रिय पौडेल नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश परिषद् सदस्य हुन् । व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रबाट प्राप्त अनुभवलाई उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको भनाइ छ ।
“संघमा प्रतिनिधित्व पदका लागि मात्र होइन, व्यवसायीका समस्या सुन्न, आवाज उठाउन र समाधानका लागि काम गर्न हुनुपर्छ,” भन्ने मान्यता राख्ने पौडेलले सम्पूर्ण उद्योगी–व्यवसायीको साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदका उम्मेदवार मनोहरी पौडेलको क्रम संख्या ९ रहेको छ ।















