पोखरा । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञबाट दुई दिनमै करिब ८५ लाख रुपैयाँ संकलन भएको छ।

महायज्ञको दोस्रो दिन बिहीबारसम्म उक्त रकम संकलन भएको महायज्ञ प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालले जानकारी दिए। मन्दिर पुनःनिर्माणसँगै धार्मिक, सामाजिक तथा सामुदायिक एकताको उद्देश्यले आयोजना गरिएको महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएका, घाइते तथा बेपत्ता भएकाहरूको सम्झना र विश्व शान्तिको कामनासहित आयोजना गरिएको महायज्ञ श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सुरु गरिएको हो। महायज्ञमा विभिन्न देवलिला, संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। महायज्ञका प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल रहेका छन्।

आयोजकका अनुसार महायज्ञबाट संकलित रकममध्ये अधिकांश मन्दिर पुनःनिर्माणमा खर्च गरिनेछ भने केही रकम बाढीपीडित राहत कोषमा जम्मा गरिनेछ। मन्दिरलाई कलात्मक तथा आकर्षक स्वरूपमा पुनःनिर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

सन्तानेश्वर महादेव मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको विशाल शिवालयका रूपमा निर्माण गर्ने योजना रहेको आयोजकले जनाएको छ। मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने तथा दातालाई योगदानका आधारमा सम्मान गर्ने व्यवस्था गरिएको छ।

सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। मन्दिरको गर्भगृहमा एउटै शिलाका तीन भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा रहेको बताइन्छ।

स्थानीय लिलाधर कोइरालाले करिब ९२ वर्षअघि सन्तानेश्वर महादेव मन्दिर स्थापना गरेका थिए। लामो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरलाई व्यवस्थित र भव्य स्वरूप प्रदान गर्न महायज्ञ आयोजना गरिएको आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0