पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ अधिवेशनलाई लक्षित गर्दै कार्यसमिति सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका आठ जना उम्मेदवारले चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

कुनै पनि अध्यक्षका प्यानलमा नबसी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारी विभिन्न व्यापारिक क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्।

उम्मेदवारहरूले पोखराका प्रमुख व्यापारिक केन्द्रहरू पृथ्वीचोक, भैरवटोल, बाग्लुङ बसपार्क, सिर्जनाचोक र सभागृहचोक लगायतका क्षेत्रमा घरदैलो तथा व्यवसायी भेटघाट गरेका छन्।

घरदैलोका क्रममा व्यवसायीहरूले प्यानलरहित स्वतन्त्र उम्मेदवारीको स्वागत गर्दै आफूहरूको समस्या सम्बन्धित निकायसम्म पुर्‍याउन सक्ने प्रतिनिधिको आवश्यकता रहेको बताएका छन्। उनीहरूले कुनै पनि प्यानलमा नबाँधिई स्वतन्त्र रूपमा उम्मेदवारी दिएकोमा उम्मेदवारहरूलाई धन्यवाद दिँदै आगामी अधिवेशनमा समेत स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिन सुझाव दिएका छन्।

व्यवसायीहरूले ‘हामी तपाईंहरूको साथमा छौँ, व्यवसायीका समस्या सम्बन्धित ठाउँमा पुर्‍याउने काम तपाईंहरूको हो’ भन्दै स्वतन्त्र उम्मेदवारहरूलाई आफ्नो समर्थन रहने बताएका थिए।

घरदैलो अभियानका क्रममा आठै जना उम्मेदवारले व्यवसायीका वास्तविक समस्या, चुनौती र मागलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन आफूहरूको समूह सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। उनीहरूले प्यानलभन्दा माथि उठेर व्यवसायीको हित र समस्यालाई प्राथमिकतामा राख्ने भन्दै आफूहरूलाई मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।

आसन्न ३६औँ अधिवेशनसँगै पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि चुनावी गतिविधि तीव्र बन्दै गएको छ। स्वतन्त्र उम्मेदवारहरूको सक्रियताले यसपटकको निर्वाचनमा प्यानलभन्दा बाहिरको प्रतिस्पर्धालाई समेत थप रोचक बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0