पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्यको क्षेत्रमा सुधार गर्छु भन्ने आत्मशक्ति आफूसँग भएको बताएका छन् । मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँग भेटघाट कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने अठोट गरेको छु भन्दै सबै तह र पक्षको साथ लिएर उपलब्धि हासिल गर्ने बताएका हुन् ।
‘मैले स्वास्थ्यको क्षेत्रमा सुधार गर्नुपर्ने अठोट गरेको छु। आत्मशक्ति म मा छ । गर्छु भन्ने आत्मशक्ति छ । तर त्यो आत्मशक्ति भएर मात्र हुँदैन, यसलाई टुङ्गोमा पुर्याउनको निमित्त एचिभ गर्नको निमित्त सबै तह र पक्षको सहयोगको आवश्यकता हुन्छ’ उनले भने ।
आफू राजनीतिक ढङ्गले एउटा पार्टीको प्रतिनिधिको रूपमा सरकारमा गएपनि कार्यभार सम्हालेपछि आम जनताहरूको हितलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्नेमा स्पष्ट रहेको भन्दै सोही अनुसार स्वास्थ्य क्षेत्रको सुधारका कार्य गर्ने सुनाए । यस अभियानमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरेको उनको भनाई थियो । अहिले नसर्ने रोगहरूका कारण मृत्यु हुनेको सङ्ख्या धेरै रहेको भन्दै स्थानीय तहसँग मिलेर नसर्ने रोगहरूको स्क्रिनिङ गर्ने कार्य मार्फत नसर्ने रोगहरूबाट मृत्यु हुने नागरिकको दरमा उल्लेख्य सुधार गर्ने लक्ष्य लिएको बताए ।
‘बदलिँदो जीवनशैलीको कारण आफ्नो स्वास्थ्यमा ख्याल नगर्नका कारणले रोगहरूले हामीलाई समातेको, समयमै त्यसको निधान गर्न नसक्ने भएका कारण अहिले नेपालमा ७१ प्रतिशत नागरिकहरू नसर्ने रोगको कारण बर्सेनि मृत्यु हुने अवस्था छ’ उनले भने ।
उच्च रक्तचाप, मधुमेह, मोटोपन, क्यान्सर लगायतका रोगहरू लागेपछि सर्दैन केरे भन्ने ढङ्गबाट वास्ता नगर्ने हेलचेक्र्याइँ गर्ने कारणले हाम्रो स्वास्थ्य दिन प्रतिदिन बिग्रदै जाने र मानिसहरूको मृत्यु हुने गरेको उनको भनाइ थियो । यसैलाई ध्यान दिदैँ स्थानीय तहसँग मिलेर तल-तल सम्म गएर यसको स्क्रिनिङ गर्नुपर्छ र नियन्त्रणमा ल्याउनुपर्छ भन्ने उद्देश्यले पहिलो निर्णय गरेको खुलाए ।
जनताको स्वास्थ्य निकै महत्त्वपूर्ण र संवेदनशील क्षेत्र भएको बताएका उनले केही नीतिगत सुधार गर्नु समेत बताए । राम्रा काम गर्दा प्रचार गरेर सहयोग गर्न तथा बाटो बिराउँदा आलोचना गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
‘आलोचना मानिस सुध्रिने एउटा कसी पनि हो मेरो यो मन्त्रालयमा रहँदा वा नरहँदा म राजनीतिक कार्यकर्ता भएको हैसियतले मलाई धेरै प्रशंसा भन्दा पनि मैले केही गल्ती गरेभने आलोचना पनि गरिदिनुहोलाआलोचनाले मानिस सुध्रिन्छ सही बाटो पहिल्याउन मद्दत गर्दछ’ उनले थपे ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा उनको जोड थियो । अहिले भइरहेका गतिविधि बुझ्ने काम गरिरहेको र केही दिनमा स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने प्रतिवद्दता जनाए ।