पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । पोउवासङ्घको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसायसँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय उडान अत्यावश्यक रहेको बताउँदै पोखरामा लगानी सम्मेलन गरि अन्तर्राष्ट्रिय लगानीलाई समेत भित्र्याउन आवश्यक रहेको धारणा राखे ।

पोखरेलीले लामो सङ्घर्ष र त्याग पश्चात अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि विभिन्न पक्षले उडान हुन नदिएको बताएका हुन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि लबिङ गर्ने, स्वदेशी र विदेशी च्याम्बरहरूसँग सहकार्य र भगिनी सम्बन्धको विस्तार तथा लगानी सम्मेलन गरि लगानीको वातावरण तयार गछौँ’ उनले भने, ‘अहिले युवा विदेशिने वाध्यतालाई पनि न्यूनिकरण गर्न आवश्यक छ । युवा लक्षित कार्यक्रमहरू आजका आवश्यकता हुन् ।’

पोखराका अधिकांश सटर खाली हुनु आर्थिक मन्दी मुख्य कारण रहेको र यसका लागि नीति नियमको आवश्यकता रहेको कार्कीको भनाइ छ । कार्कीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएमा यहाँको पर्यटनसँगै उद्योग, कृषि र व्यापारले ठुलो फड्को मार्नेमा आफू आशावादी रहेको बताए । सङ्घको उपाध्यक्षसम्म अमूल्य मतले विजयी गराउने सम्पूर्ण उद्योग व्यवसायी तथा व्यापारीहरूले अब एक पटक आफूलाई अध्यक्षका लागि भारी मत दिनेमा समेत आशावादी रहेको र नेतृत्वमा रहुन्जेल आफ्नो कुनैपनि व्यवसायमा नलाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो समय कार्कीलाई समर्थन गर्नेको लर्को चलिरहेको छ । गुटउपगुट नसमाई स्वतन्त्र रुपमा उठेकाले आफूहरूले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0